तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयहरूमाथि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको सुरु भएलगत्तै सांसदहरुले तीन तहका सरकारको अन्तरसम्बन्ध प्रभावकारी बनाउनुपर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन वार्ताको संसदीय समिति बनाएर छानविन गर्नुपर्ने लगायतका विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सांसदहरुले नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको समाचार आएको, बर्दियामा बाघको आक्रमण भइरहँदा सरकार गम्भीर नदेखिएको, समिट होटलको अपार्टमेण्टका कारण आसपासको घरहरू भासिएको र नक्कली भुटानी शरणार्थी बनाउने घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतका विषयमा  सरकारको ध्यानाकर्षण गराउनुभयो । 

विशेष समयमा सत्तापक्षका सांसदहरुले बजेटमा अपूरा योजनालाई प्राथमिकता दिनुपर्ने, संसद् बैठकमा उठाइएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, किसान र कृषि क्षेत्रमा जोड दिँदै कृषिमा आत्मनिर्भर बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

प्रतिपक्ष दलका सांसदहरुले सदनमा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको, गौरवका आयोजना ठप्प रहेको, विकास खर्च हुन नसकेको, राजश्व उठ्न नसकेको, बैंकले मनपरी व्याज लिँदा सरकार मौन रहेको बताउनुभयो ।   

यसअघि, शून्य समयमा सांसदहरुले साधन स्रोतको दुरुपयोग भइरहेको, नागरिकता समस्या, संसदमा उठाइएको विषयहरू सुनुवाई नभएको, सडकको मुआब्जा वितरण, लघुवित्तले नागरिकलाई पीडा दिएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८/०७९” पेश गर्ने र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८  छलफलका लागि सदनमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सांसदहरुले बोल्ने क्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button