जनकपुरधाममा जारी मेयर कपमा बाराको जित, सर्लाही र पर्साको खेल जारी

जनकपुरधाम । जनकपुरधाममा जारी ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता २०७९’ अन्तर्गत आज चौथो दिनको पहिलो खेलमा बार जिल्लाका क्रिकेट टिम ५३ रनले विजयी भएको छ ।
आज पहिलो खेलमा बाराले रौतहटलाई ५३ रनले पराजित गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट सङ्घको संयोजनमा जनकपुरधामको वडा नम्बर–१४ रजौलस्थित निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा बाराले रौतहटलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
यसअघि जनकपुरधामको टिम पनि सेमिफाइनलमा पुगिसकेको छ । टस जितेर रौतहटले ब्याटिङका लागि आमन्त्रण गरेका बाराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन स्कोर खडा गरेका थिए । जबाफी ब्याटिङ्गमा उत्रेको रौतहटले १३.४ ओभरमै सबै विकेट गुमाएर ८४ रन मात्र जोड्न सफल भएको थियो ।
बाराको तर्फबाट तीर्थराज दासले ३७ रन बनाएका थिए भने निखिल सिंहले अविजित २८, पवन सर्राफले २६ र अरनिको यादवले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएन ।

बलिङतर्फ रौतहटका धर्मेन्द्र साहले २ विकेट लिए भने विनोद सहनी, रञ्जित मुखिया, सन्नी साह र आंशिक साहले १/१ विकेट लिएका थिए । १३८ रनको लक्ष्य पाएको रौतहटले सबै विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सकेको थियो ।
रौतहटको तर्फबाट अरविन्द चौधरीले अविजित १७ रनको पारी खेल्दा शैलेन्द्र कुशवाहा १३, नितेश यादव १२ र विपिन सहनीले १२ रन बनाएका थिए । बाँकी खेलाडीले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा बाराका कुमार थापाले ४ ओभरमा १८ रन खर्च गर्दै ४ विकेट लिए भने अरनिको यादवले ३, पवन सर्राफले २ र अनिल कुमार साहले १ विकेट लिएका थिए । आजको पहिलो खेलमा सेमिफाइनलको यात्रा तय गरेका बारा टिमका कुमार थापा म्यान अफ दि म्याच घोषित भएका थिए । यसै गरि आजको दोस्रो खेलमा सर्लाहीका क्रिकेट टिमले ब्याटिङ गर्दै १७.४ ओभरमा ८४ रन बनाएको छ ।
पर्सा जिल्लाका क्रिकेट टिमले ८५ रनको लक्ष्य सहित खेलमैदानमा ब्याटिङ्गमा उत्रेका छन् । उक्त प्रतियोगितामा विजेता टिमलाई २ लाख ५१ हजार र शिल्ड र उपविजेता टिमलाई १ लाख ५१ हजार र शिल्ड प्रदान गरेर पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्