तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबको सहज जित

काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले सहज जित निकालेको छ ।

च्यासल मैदानमा आज मनाङले फ्रेन्ड्स क्लबलाई २–० गोल अन्तरले हराएको हो ।

मनाङको जितमा कोफी टिमोथी कुदोले दुई गोल गरे । खेलको ३४ औँ मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औँ मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलाए ।

जितसँगै मनाङ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ  । अपराजित मनाङको यो चौथो जित हो । 

मनाङले ६ खेलमा १४ अङ्क जोडेको छ । फ्रेन्ड्स ४ अङ्क जोडेर १२ औँ स्थानमा रहेको छ । अर्को खेलमा जवालाखेल यूथ क्लब र एफसी खुमलटारले बराबरी खेल्दै अङ्क बाडेका छन् । 

त्यस्तै, एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल र खुमलटारले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । 

खेलको ३२ औँ मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३५ औँ मिनेटमा अविशेक लिम्बुले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६३ औँ मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २–१ ले अघि रह्यो । त्यसपछि खेलको ८६ औँ मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–२ गोलको बराबरीमा ल्याए । 

यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अङ्क जोडेको छ । जावलाखेल दोस्रो स्थानमा रहेको छ । खुमलटार ७ खेलमा ७ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button