तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर साहित्य महोत्सवको तयारी पुरा

टीकापुर, कैलाली । टीकापुरमा पहिलो पटक हुन लागेको टीकापुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । टीकापुर साहित्य समाजको आयोजनामा भोलिदेखि शुरु हुने महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । 

महोत्सवको पहिलो दिन भोलि सातवटा विधामा प्रस्तुती हुने भएको छ । महोत्सवको उद्घाटनसहित पहिलो प्रस्तुती साहित्यमार्फत सामाजिक सद्भाव विषयमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालको विद्धत प्रवचन हुनेछ । 

बिहान १० बजेबाट शुरु हुने लालको प्रवचन एक घण्टा चल्नेछ । दोस्रो सेसन साहित्य किन लेख्ने ? किन पढ्ने भन्ने विषयमा चल्नेछ । दोस्रो सेसनमा साहित्यकार केशव दाहाल, बुद्धिसागर र शिवानी सिंह थारु र सहजीकरण दीपक सापकोटाले गर्नुहुने भएको छ । 

तेस्रो सेसन बैकिनीका आँसुमा डुब्छ, सुदूरपश्चिमको धर्ती विषयमा उमा बादी, उन्नति चौधरी र कल्पना भट्ट बीच छलफल हुनेछ त्यसको सहजीकरण वरिष्ठ पत्रकार आरती चटौतले गर्नुहुने भएको छ । 

चौथो सेसन १ बजे पाठकको रोजाइमा उपन्यास नै किन ? भन्ने विषयमा केन्द्रित रहनेछ । चौथो सेसनमा नयनराज पाण्डे, अमर न्यौपाने र उमा सुवेदीबीच यज्ञशको सहजीकरणमा हुनेछ । पाँचौँ सेसनमा आख्यानमा पहिचानका मुद्दा विषयमा हुनेछ । जसमा अर्चना थापा, फूलमान बल र राजेन्द्र विमलका कुरा सुन्न पाइनेछ । पाँचौँ सेसनको सहजीकरण गुरुङ सुशान्तले गर्नुहुनेछ । 

३ बजे छैठौ सेसन गद्य कविताको शक्तिका विषयमा हुनेछ । गद्य कविताको शक्तिबारे छलफल श्रवण मुकारुङ, सरिता तिवारी र निभा शाहबीच हुनेछ । गद्य कविताबारे कार्यक्रम नवीन अभिलाषीले सहजीकरण गर्नुहुने आयोजकले जनाएको  छ । 

सातौँ सेसन घनश्याम खड्काको सहजीकरणमा बाटो बिराएको आजको शिक्षाबारे हुनेछ । उक्त सेसनमा डाक्टर सञ्जीव उप्रेती र प्रा. डा. भारती जोशीका कुरा सुन्न पाइनेछन् । ५ बजेपछि कार्यक्रममा काव्य सन्ध्या आयोजना हुनेछ । काव्य सन्ध्याको सहजीकरण साहित्यकार अशोक बोहरा असीम पीडाले गर्नुहुने साहित्य समाजका सचिव बाबु देवकोटाले जानकारी दिनुभयो । ।

टीकापुरमा पहिलो पटक साहित्यकै विषयमा महोत्सव आयोजना गरिनु खुसीको क्षण भएको यस क्षेत्रका साहित्यकार अशोक बोहरा असीम पीडाको भनाई छ । महोत्सवका माध्यमबाट यहाँका साहित्यकारलाई थप ऊर्जा मिल्ने उहाँले बताउनु भयो । 

कार्यक्रममा हाम्रो प्रधानमन्त्री कस्तो हुनुपर्छ भन्ने विषयमा उच्च माविका विद्यार्थीले छलफल गर्नेछन् । यस कार्यक्रमलाई यस क्षेत्रका विद्यार्थी, शिक्षक तथा नव साहित्यकारले उत्साहका रुपमा लिएका छन् । यो कार्यक्रम टीकापुरका लागि ऐतिहासिक कार्यक्रम भएकाले चासोका रुपमा लिइएको समाजसेवी भुवनेश्वर अधिकारीले बताउनुभयो । 

३ दिनसम्म चल्ने साहित्य महोत्सवमा देशका विभिन्न ठाउँबाट पत्रकार, कलाकार, साहित्यकार, राजनीतिज्ञ गरी १५० जना टीकापुर आउँदैछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button