तपाईँ सुन्दै हुनुहुन्छः

खुला दिसामुक्त जिल्लामै १७ हजार बढी घरधुरीमा छैन शौचालय 

नवलपरासी ।  ग्रामीण दूर दराजका बस्तीमा अझै पनि खुला शौच हुने गरेको छ। सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम र सहयोग मार्फत शौचालय निर्माण अभियानलाई निकै महत्त्वका साथ अघि बढाएपनी थुप्रै घरधुरी  अझै शौचालयको पहुँचमा छैनन्।

नवलपरासीका १७ हजारभन्दा बढी घरधुरीमा शौचालय नभएको तथ्याङ्कले देखिएको छ । शौचालय नभएका घरपरिवार अधिकांश विपन्न समुदायका रहेका छन्।आर्थिक अभावका कारण शौचालय बनाउन नसकेका उनीहरू खुला स्थानमा गएर शांैच गर्न बाध्य छन् ।

जिल्लालाई सात वर्षअघि नै खुला दिसामुक्त घोषणा गरिए पनि अहिलेसम्म आई पुग्दा सबै घरपरिवारमा शौचालय बन्न नसकेको हो । २०७२ सालमा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले नवलपरासीलाई खुला दिसामुक्त क्षेत्र जिल्ला घोषणा गर्नुभएको थियो।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको १२ औँ जनगणना–२०७८ को तथ्यांकअनुसार जिल्लाका १७ हजार २२ अर्थात् ४.४ प्रतिशत घरपरिवारमा शौचालय छैन ।

तथ्यांकअनुसार जिल्लाको कुल जनसङ्ख्या ३ लाख ८६ हजार ८६८ छ । जिल्लामा साधारण शौचालय प्रयोग गर्ने परिवारको सङ्ख्या सबैभन्दा बढी ५५ दशमलब ८ प्रतिशत छ ।

जिल्लाका केही पालिकाहरूले खरको छानामुक्त अभियान सञ्चालन गरे पनि अझ पनि खरको छाना र टायल, खपडा र झिँगटीको घरमा बसोबास गर्ने विपन्न परिवारको सङ्ख्या पनि उत्तिकै छ । खर, पाली र छालीको घरमा बस्ने परिवारको सङ्ख्या ८ हजार ८ सय ९७ अर्थात् २. ३ प्रतिशत छ । टायल, खपडा र झिँगटीको घरमा बसोबास गर्ने परिवारको सङ्ख्या ३७ हजार ५२६ अर्थात् ९.७ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

जस्ता र टिनको घरमा बस्ने २८ दशमलब ४ प्रतिशत रहेको छ । ५७ दशमलब ७ प्रतिशतसँग सिमेन्टको ढलान घर रहेको तथ्या‌‌‌कमा उल्लेख छ। 

तीनै तहका सरकारले खरको छाना मुक्त घर र शौचालय निर्माणलाई प्राथमिकता दिएर काम गरेको जनाए पनि नवलपरासीमा भने यो समस्या अझै हट्न नसकेको देखिएको हो । 

जनताको नजिकको सरकार भनेर चिनिएको स्थानीय तहहरुले उक्त समस्या समाधानभन्दा भौतिक संरचना र बाटो घाटोलाई मात्र विकासका रुपमा लिने गरेका कारण विपन्न समुदायको समस्या ओझेलमा परेको सरोकारवालाहरूको गुनासो छ । 

जनगणनाको तथ्यांकअनुसार १० वर्षको अवधिमा जिल्लाको जनसङ्ख्या ६५ हजार ८ सय १० ले बढेर ३ लाख ८६ हजार ८ सय ६८ पुगेको छ । कुल परिवार बसोबास सङ्ख्या ८२ हजार ७ सय ३८ रहेको छ । सबैभन्दा बढी जनसङ्ख्या बर्दघाट नगरपालिकाको र कम जनसङ्ख्या सुस्ता गाउँपालिकाको रहेको छ । १० वर्षको अवधिमा बर्दघाटको जनसङ्ख्या २१ हजार ७ सय ३ ले बढेर ७६ हजार ७ सय ३ पुगेको छ ।

सुस्ता गाउँपालिकाको ४ हजार ७ सय ६५ ले बढेर ४० हजार ६सय ५५ पुगेको छ । सुनवल नगरपालिकाको ७२ हजार ८५ पुगेको छ । रामग्राम नगरपालिकाको ६४ हजार १७, प्रतापपुर गाउँपालिकाको ४९ हजार ८ सय ९७, सरावल गाउँपालिकाको ४२ हजार २ सय ७ र पाल्हीनन्दन गाउँपालिकाको जनसङ्ख्या ३८ हजार १सय ८६ रहेको छ । जिल्लाको जनसङ्ख्या वृद्धिदर १ दशमलब ४७ रहेको तथ्याङ्कमा उल्लेख छ । स्थानीय तहहरुले विभिन्न किसिमका सरसफाइका अभियान सञ्चालन गरिरहँदा यति धेरै घरधुरीमा  शौचालय नहुनु दुखद् विषय बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button