मुस्ताङमा स्वास्थ्यकर्मी सम्मानित

मुस्ताङ । हिमाल पारिको जिल्ला मुस्ताङमा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आज एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
घरपझोङ गाउँपालिका–२ स्थित मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रको पहलमा उनीहरूलाई सम्मान गरिएको हो ।
सो अवसरमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीसहित नौजना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारी, डा मुखिया घले, डा तेजेश कुमार, डा कृष्ण भरखेर, डा शिशिर पौडेल, डा कुन्दन कर्ण, स्टाफ नर्स कल्पना बस्याल, अहेव कौशिला चौरासिया र कार्यालय सहयोगी सनिलाल परियार हुनुहुन्छ ।
गत भदौ १ मा जिल्ला स्वास्थ्य कार्यालयमा पहिलोपटक शल्यक्रियाको शुभारम्भ भएपछि चिकित्सकहरूले एक गर्भवतीको सफल शल्यक्रिया गरेका थिए ।
मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रकी सञ्चालक सुकुनदेवी रसाइलीले उक्त शल्यक्रियापछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनुभयो ।
‘यहाँका चिकित्सकले यहाँ पहिलो पटक सफल शल्यक्रिया गरेकोमा हामी निकै खुसी छौँ’, उहाँले भन्नुभयो, ‘चिकित्सकहरूले जिल्लाको इज्जत राख्नुभएकाले सम्मान गरिएको हो ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले अस्पतालमा शल्यक्रियाको काम सुरुआत भएको बताउँदै आगामी दिनमा व्यवस्थित अस्पताल भवन निर्माण सँगसँगै थप सेवा र सुविधायुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुस्ताङका पाँचवटै गाउँपालिकाको समन्वयमा जिल्ला अस्पतालको स्तरोन्नतिका लागि केही पहल गरेको उल्लेख गर्दै उहाँले बजेट अभावका कारण अपेक्षित काम गर्न नसकिएको बताउनुभयो ।
कार्यक्रममा मुस्ताङ जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीले यस सम्मानले आगामी दिनमा अझ राम्रो काम गर्ने हौसला प्राप्त भएको बताउनुभयो । जनताको अवस्थालाई मध्यनजर गर्दै जटिलभन्दा जटिल समस्यासँग पनि जुध्न पनि आफूलाई उत्प्रेरण प्राप्त भएको उहाँको भनाइ छ ।
हाल दुर्गम क्षेत्रमा जटिल समस्या आइपरेमा हेलिकोप्टरमार्फत सेवा दिने व्यवस्था भए पनि ती सेवा जनतासम्म पुग्न नसकेको भन्दै उहाँले गुनासो गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङले स्वास्थ्य क्षेत्र अत्यन्तै जटिल भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र अझ व्यवस्थित बनाएर लैजान हरेक तह र तप्कासँग आफूहरूले सहकार्य गरिरहेको बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्