उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्पसनबीच शिष्टाचार भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।
भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार सङ्क्रमणकालीन न्याय निरुपण सम्बन्धि विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताउनुभयो।
सङ्क्रमणकालीन न्याय सम्पन्न गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि विधेयक संसदमा पेश भइसकेको समेत उहाँले बताउनुभयो।

राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफु र आफ्ना कूटनीतिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताउनुभयो। राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताउनुभयो । राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताउनुभयो।
कोभिडपछि अमेरिकी सहयोग संस्था ‘पिसकोर’को काम प्रभावित भएकाले ‘पिसकोर’ कार्यकर्ताको भिसा सहजताका लागि राजदूत थम्पसनले आग्रह गर्नुभएकोमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताउनुभयो ।
नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राख्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले त्यसमा पूर्ण सुरक्षा हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्