तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली कागजात बनाएर तीन वटा मोटरसाइकल बिक्री गर्ने एक जना पक्राउ

भद्रपुर, झापा । झापाको अर्जुनधारा–३ खुदुनाबारीबाट तीन वटा अवैध मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–३ स्थित आइतबारे बजार नजिकैबाट नक्कली कागजात बनाएका अवैध मोटरसाइकलसहित झापा हल्दिबारी–१ का ४४ वर्षीय जगतबहादुर लिम्बूलाई पक्राउ गरेको हो ।

नक्कली ब्लु बुक बनाई झुक्क्याएर बिक्री गर्दै गरेको विशेष सूचनाको आधारमा हिजो अस्थायी प्रहरी चौकी खुदुनाबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक यामनाथ भट्टराई नेतृत्वको टोलीले छापा मारेर मोटरसाइकलसहित लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले बिक्री गर्न लागेको बागमती प्रदेश ०२–०३८ प ३१६३ नम्बर र बागमती प्रदेश ०२–०३२ प १६२३ नम्बरको केटीएम डुक मोटरसाइकल दुई थान र बागमती प्रदेश ०२–०३५ प १६६६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल १ थान नियन्त्रणमा लिएको छ । 

तीन वटै मोटरसाइकलको सक्कली ब्लु बुक समेत फेला परेको प्रहरीले बताएको छ ।

त्यस्तै, लिम्बुको साथबाट न्यु धनुषा टे«डर्सको पान बिल ८ थान, न्यु धनुषा टे«डर्सको खरिद बिक्री सम्झौता १ थान, रसिद १ थान, स्टाम्प प्याड १ थान, झोला १ थान, नागरिकताको फोटोकपी १ थान र जग्गा खरिद बिक्रीको सम्झौताका कागजातहरूसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ । 

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button