तपाईँ सुन्दै हुनुहुन्छः

जहाँ अभिभावकसँगै बालबालिकालाई जगाउन  बिहान ५ बजे टोलटोलमा घण्टी बज्छ…

अछाम । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ मा रहेको प्रभा धम्कोट माविले गुणस्तरीय शिक्षा प्रदानका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।

एसइई दिने विद्यार्थीका लागि खान बस्नको व्यवस्था सहित निःशुल्क तयारी गराउने विद्यालयले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरि शैक्षिक सुधारको प्रयास गरिरहेको छ ।

विद्यालयले सेवा क्षेत्रमा रहेका २२ टोललाई ११ टोलमा बाँडेर हरेक टोलमा शिक्षा समिति बनाई संयोजक समेत तोकेको छ ।

थप आकर्षकको कुरा त के छ भने टोल शिक्षा संयोजकले विद्यालय सञ्चालन भएको समयमा हरेक दिन बिहान ५ बजे घण्टी बजाई आमासँगै बच्चालाई ब्युँझाउने र बिहान ७ बजेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक जोगराज कुँवरले बताउनु भयो ।

विद्यालयको समय १० बजेदेखि ४ बजेसम्मको समयले मात्रै विद्यार्थीलाई सिकाउन नसकिने निष्कर्ष सहित विद्यालयले यो अभ्यास गरिरहेको र यसको सकारात्मक प्रभाव परिरहेको प्रधानाध्यापक कुँवरले बताउनुभयो ।

बिहान ७ बजे विद्यालयमा पठाउँदा आमा तथा अभिभावकले बालबालिकालाई खाजा खुवाउने तथा स्कुलमा खानको लागि खाजा तयार पारेर दिने गरेको उहाँले बताउनु भयो ।

आफ्नो विद्यालयले सबै कक्षाहरू बिहान ७ बजेबाटै सञ्चालन गरिरहेको भन्दै प्रधानाध्यापक कुँवरले हाल विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमले ठुलो राहत पुगेको बताउनुभयो ।

गुणस्तरीय सिकाइका लागि विद्यालय समयले मात्रै नपुग्ने भन्दै थप समय व्यवस्थापन गरि सिकाउनु पर्ने र यसका लागि अभिभावक तथा सरोकारवालाले चाँसो राख्नुपर्नेमा उहाँको जोड छ ।

विद्यालयमा हाल पढ्दै कमाउँदै कार्यक्रम पनि सञ्चालन भइरहेको भन्दै त्यसबाट विद्यार्थीमा व्यवहारिक ज्ञान सँगै सिकाई भइरहेको प्रधानाध्यापक कुँवरको भनाइ छ ।

विद्यालयले हालै बीएस्सी एजी सञ्चालनका लागि आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट पनि ३ करोड बढी रकम सङ्कलन भएको छ ।  महायज्ञ समापन हुँदा सम्म विभिन्न दानदाताबाट गरि ३ करोड ९ लाख २२ हजार ६ सय ७० रुपैयाँ सङ्कलन भएको महायज्ञ आर्थिक समिति संयोजक कृष्ण बहादुर कुँवरले बताउनुभयो ।

वीएस्सी एजी सञ्चालनका लागि मन खोलेर दान गर्नु हुने दान दाता , भूमिदान र तुलादान, कलश काटेर सहयोग गर्नु हुने सम्पूर्ण दाताहरूमा प्रधानाध्यापक कुँवरले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

विभिन्न सहयोगी, दानदाता, पूर्व विद्यार्थी समाज लगायतले विद्यालयलाई सहयोग गर्ने गरिरहेका छन् । आधारभूत तह ९निमावि० सम्मको स्वीकृति पाएको विद्यालयले कक्षा १२ सम्म साधारण माध्यममाा तथा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाली विज्ञान तर्फ शिक्षा प्रदान गरिरहेको प्रधानाध्यापक कुँवरले बताउनु भयो ।

शैक्षिक सत्र शुरु हुने क्रममा रहेकोले यो कुरा अन्य विद्यालयका लागि पनि सिकाई हुने शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button