ब्यारियल सार्न अटेरी

कञ्चनपुर । हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुर र कैलाली जिल्ला जोड्ने सिमानामा कैलाली भन्सार कार्यालयले लगाएको ब्यारियल हटाई नेपाल भारत सीमा नाकामा लगाउन विगत एक वर्षदेखि माग भएपनि सम्बन्धित निकायले अटेरी गरेको छ ।
पछिल्लो एक वर्षयता पटक पटक कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीय नागरिक तथा जनप्रतिनिधिहरूले उक्त ब्यारियल सार्न कैलाली भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय कैलालीसँग माग गरेपनि सरोकारवाला निकाय टसमस भएका छैनन् ।
दुवै कार्यालयलाई विगतमा ध्यानाकर्षण पत्र बुझाउँदै यथाशीघ्र उक्त ब्यारियल सीमा नाकामा सारी हुलाकी राजमार्गमा निर्बाध आवागमनको वातावरण सृजना गरिदिन आग्रह गरिएको भएपनि हालसम्म नहटाएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टको भनाइ छ ।

दुई जिल्ला जोड्ने सीमा क्षेत्रमा भन्सारले ब्यारियल लगाउँदा अबेर राति उक्त बाटो प्रयोग गरी आवागमन गर्ने सवारी साधन सहित यात्रुहरूलाई असहज भएपछि नागरिक स्तरबाट स्थानीय तहहरू र सुदूरपश्चिम प्रदेश सरकारको समेत ध्यानाकर्षण गराइएको थियो ।
अन्तर्राष्ट्रिय सीमा नाकामा हुनु पर्ने ब्यारियल दुई जिल्लाको सीमा क्षेत्रमा राखिँदा रातिको समयमा कञ्चनपुरका पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडी आवागमन गर्ने जो कोहीलाई पनि असहज हुने गरेको छ ।
राति १० बजेदेखि बिहान ५ बजेसम्म ब्यारियल लगाउने र त्यहाँ कार्यरत कर्मचारी सुत्नका लागि अन्तै जाने हुँदा लामो समयसम्म कुर्नुपर्ने वा खोजेरै बोलाउनु पर्ने बाध्यताले गर्दा रातिको समयमा ओहोरदोहोर गर्ने आकस्मिक सवारी साधनलाई समेत झन्झटिलो हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्