पाल्पामा पशुमा लाग्ने लुम्पी स्किन रोग फैलियो

पाल्पा । पाल्पामा पशुमा लाग्ने लुम्पी स्किन रोग फैलिएको छ । जिल्लाको माथागढी, तिनाउ, बगनासकाली र रिब्दीकोट गाउँपालिकामा यो रोग देखिएको छ ।
जिल्लामा करिब दुई साता अघिदेखि यो रोग फेला परेको र हालसम्म करिब एक सय बढी पशुमा रोग फेला परेको भेटनेरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका निमित्त कार्यालय प्रमुख दुर्गा प्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार यो रोग लागेपछि छाला सुन्निने, गिर्खा पर्ने, घाउ हुने, रगत बग्ने, ज्वरो आउने, पशु दुब्लाउँदै जाने, पशु झोक्रिने जस्ता लक्षणहरू देखिन्छन् । बिशेषगरि यो रोगले गाई, गोरुलाई बढी आक्रमण गरेको छ । भने, भैँसीमा समेत भेटिएको पाइएको छ । रोग भाइरसको माध्यमले सर्ने हुनाले भुसुना, झिँगाले एक पशुबाट अर्को पशुसम्म पुर्याउने गर्दछन् ।
लुम्पी स्किन रोगको हालसम्म कुनै प्रकारको भ्याक्सिन बनेको छैन । यो सरुवा रोग भएकाले रोगी पशुलाई निरोगी पशुको सम्पर्कमा ल्याउन नहुने तथा थरीमा फिनेल छर्नुपर्ने निमित्त प्रमुख खनालले बताउनुभयो । उहाँले स्थानीय तहसँग मिलेर रोगी पशुलाई लक्षणका आधारमा उपचार गरिएको बताउनुभयो ।
यो रोग लागेका पशुको मृत्युदर कम रहेकाले डराइहाल्नु पर्ने अवस्था नरहेको । यो रोगले उन्नत जातका पशुलाई भन्दा स्थानीय जातका पशुलाई बढी आक्रमण गर्ने गरेको निमित्त प्रमुख खनालले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्