तपाईँ सुन्दै हुनुहुन्छः

बारा–२ : उपनिर्वाचनका लागि ३६ जनाको उम्मेदवारी

वीरगञ्ज । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित ३६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ताका लागि तोकिएको ५ बजेसम्ममा ३६ जनाले उम्मेदवारी दर्ता गराएको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आज कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कार्यकर्ता सहितको टोली पुगेर मनोनयन दर्ता गराउनुभयो । सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले बाराका जनताले बोलाएपछि उनीहरूको सम्मानमा चुनाव लड्न आएको बताउनुभयो ।

त्यसैगरी जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गराउनुभयो ।

त्यसैगरी नेकपा एमालेको तर्फबाट एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी आम जनता पार्टीको तर्फबाट अरुण ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेमा राप्रपाका सोनालाल प्रसाद साह तेली, स्वतन्त्र उम्मेदवार गिरजा कुमारी, उषा कुमारी कुशवाहा, सिंगारी देवी, रिता देवी, जैसी राउत, दिनेश प्रसाद यादव, असर्फी राउत अहिर, बाबुराम प्रसाद कलवार, मुन्ना मन्सुरी, रमतुल्लाह अन्सारी, नेरारुल अन्सारी, धर्मवीर प्रसाद यादव, विनोदकुमार कर्ण, ध्रुवलाल हजरा, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादव लगायत ३६ जनाले मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाका अध्यक्ष यादवलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उपराष्ट्रपति राम सहाय यादव जसपाबाट निर्वाचित भएका हुनुभएको थियो ।

उहाँले १३ हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रले उपेन्द्रलाई समर्थन गर्ने भएपछि शिवचन्द्र कुशवाहा माओवादी परित्याग गरी जनमत पार्टीमा गएर उम्मेदवारी दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button