सञ्चार माध्यमले जनतालाई सुसूचित बनाउने काम गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । रेडियो नेपालले आफ्नो ७३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सव समारोहको आज सिंहदरबार काठमाडौँमा उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार माध्यमहरूले जनतालाई सुसूचित बनाई जनतामाझ सरकारले प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू प्रसारण गर्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री शर्माले सञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढेको भन्नुहुँदै रेडियो नेपालले समय सुहाउँदो नवीनतम प्रविधि उपयोग गर्दै समावेशी र जन पक्षीय कार्यक्रम उत्पादन र प्रसारण गर्नु पर्ने बताउनुभयो ।

मन्त्री शर्माले बदलिएको राजनीतिक परिदृश्य, सूचना प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै जनताको सूचना र मनोरञ्जनको हकलाई थप स्थापित गर्न आज पनि रेडियो नेपालको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री शर्माले सरकारले मुलुकका सम्पूर्ण भूभागमा रेडियो प्रसारण पहुँच पुर्याउने नीति लिएको उल्लेख गर्नुहुँदै रेडियो नेपालको प्रसारण पहुँच विस्तार गर्ने लक्ष्य प्राप्तिका लागि कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना मन्त्रालयका सचिव एवं रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले रेडियो नेपालले जनतामा सत्य र तथ्य परक सूचना र समाचार पुर्याउन गरेको प्रयासको प्रशंसायोग्य रहेको भन्नुहुँदै रेडियो नेपालले आफ्नो प्रसारणलाई थप परिष्कृत तुल्याउँदै नागरिकको पहिलो रोजाइको रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले नवीनतम प्रविधिहरूको उपयोग गर्दै आफ्नो प्रसारण पहुँच करिब ९२ प्रतिशत जनसङ्ख्यामा पुर्याउन सफल भएको बताउनुभयो ।
कार्यकारी निर्देशक केसीले श्रोताको रोजाई र सुलभ प्रविधिका कारण नेपालमा एफ.एम. रेडियोहरूको लोकप्रियतालाई मनन गरी रेडियो नेपालले एफ.एम. व्याण्डमा देशैभरि आफ्नो प्रसारण पहुँच वृद्धि गर्दै लैजाने बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले १५ औँ पञ्चवर्षीय योजना सम्ममा रेडियो प्रसारणको पहुँच शत प्रतिशत भू–भागमा पु¥याउने नेपाल सरकारको नीति अनुरुप यस वर्ष गण्डकी प्रदेश पर्वत जिल्लाको दुर्लङ्गकोट, कोशी प्रदेश पाँचथर जिल्लाको सिलौटीडाँडा र लुम्बिनी प्रदेश दाङ जिल्लाको चौपट्टामा एफ.एम. रिले स्टेसनमार्फत प्रसारण आरम्भ गरी प्रसारण पहुँच वृद्धिको योजनालाई निरन्तरता दिएको जानकारी दिनुभयो ।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाललाई श्रोताहरूको पहिलो रोजाई बनाउन प्रसारणमा समयानुकूल सुधार गर्न रेडिया नेपाल कटिबद्ध भएर लाग्ने बताउनुभयो ।

समारोहमा रेडियो नेपाले हरेक वर्ष प्रदान गर्ने स्रष्टा सम्मानबाट यो वर्ष वरिष्ठ गीतकार, गायक तथा सङ्गीतकार माधव श्रेष्ठ, मोहित र वरिष्ठ प्रसारक धनलामालाई नगद रु ५१ हजार १ रुपैयाँसहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको छ ।
समारोहमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम, द्वितीय तृतीय हुन सफल गायक, गायिका तथा उत्कृष्ट गीतकार र सङ्गीतकारलाई पनि नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
यस्तै समारोहमा रेडियो नेपालमा रहेर उत्कृष्ट कार्य गर्ने विभिन्न सेवाका कर्मचारीलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
यो वर्षको उत्कृष्ट कर्मचारीद्वारा सम्मानित हुनेमा इन्जिनियर महाशाखा सिंहदरबारका उपनिर्देशक, पुरुषोत्तम मानन्धर, प्रशासन महाशाखामा कार्यरत मुख्य प्रशासकीय अधिकृत इन्द्रजीत थापा, प्रादेशिक प्रसारण कार्यालय धनकुटाकी सम्पादक सुखकला राई र सिंहदरबारमा कार्यरत का.स. शिवजी खड्का हुनुहुन्छ ।
यस्तै यो वर्षको उत्कृष्ट कार्यालयका रुपमा प्रादेशिक प्रसारण कार्यालय धनकुटालाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट स्थानीय सम्वाददाताका रुपमा रुकुम पश्चिमका मेगराज खड्कालाई नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्