भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतना बर्दिवासमा सुरु
वर्दिबास।महोत्तरीको बर्दिवासस्थित मध्य पूर्वी पृतनामा आज नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन शुरू भएको छ ।
नेपाली सेना पूर्वी पृतना हेडक्वाटर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभएको सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने दुई हजार भन्दा बढि भूपू सैनिकको सहभागीता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
भूपु सैनिकहरुको कल्याणकारी कार्यलाई समन्वय गर्ने उदेश्यले २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै नेपाली सेनाले मुलुकका विभिन्न क्षेत्रमा निरन्तर रुपमा भूपू सैनिक सम्मेलन गर्दै आएको सैनिक प्रवक्ता सहायक भण्डारीले बताउनुभयो।
हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ ।
सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तक्र्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्वपूर्ण सुझाव प्राप्त हुनेछ ।
सेना, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा एवं विश्वास वृद्धि हुने यस्तो जमघटबाट सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मानसमेत वृद्धि हुने सेनाले अपेक्षा गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्