तपाईँ सुन्दै हुनुहुन्छः

पातारासी-५ पहिलो बालविवाहमुक्त वडा घोषणा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं.५ मा पर्ने दुर्गम चार वटा गाउँलाई जुम्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ । 

जिल्लाकै पहिलो गाउँका रुपमा पातारासी–५ का (माथिल्लो लोर्पा, तल्लो लोर्पा, लासी र जप्ना) गरी चार वटा गाउँलाई आइतबार भव्य कार्यक्रमका बीच बालविवाह मुक्त गाउँ घोषणा गरिएको हो । 

२०३० सम्म नेपाल लाई बालविवाहमुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय आकाङ्क्षा र दिगो विकासको लक्ष्य अनुरुप दुर्गम पातारासीका गाउँलाई बालविवाह मुक्त घोषणा गरिएको छ । जुम्लाका आठ स्थानीय तहमध्ये पातारासी बालविवाहका हिसाबले हर्टस्पर्ट मानिन्थ्यो । अशिक्षा, गरिबी, देखासिकी र परम्परागत कारणले पातारासीमा सबैभन्दा बढी बाल बालविवाह हुन्थ्यो ।  

तर जहाँ बढी बालविवाह हुन्थ्यो त्यही पालिकाका दुर्गम गाउँ जिल्लामै पहिलो बालविवाह मुक्त हुँदा अन्य पालिकालाई चुनौती थपिएको छ ।  पातारासी वडा नं. ५ का चार गाउँमा रहेका ४ सय ३२ घरधुरीका १६ सय ३५ जना जनसङ्ख्या रहेको छ । जसमा महिला ८ सय २५ र पुरुष ७ सय ८६ रहेको छ । 

यति चाडै ५ नम्बर वडा बालविवाह मुक्त होला भन्ने आशा थिएन् । पातारासीका अध्यक्ष पूर्णसिंह बोहारा भन्छन्,“सबैको सक्रियताले अप्रत्यासी रुपमा पातारासी ५ नम्बर वडा बालविवाह मुक्त घोषण गर्न सफल भयौ । घोषणाको कार्यान्वयनका साथै अन्य ६ वडालाई बालविवाहमुक्त घोषणा गर्ने चुनौती थपिएको छ ।” 

भौतिक विकासले मात्रै समाज रूपान्तरण सम्भव छैन । सामाजिक सशक्तीकरण, बालविवाह, बहुविवाह, छुईप्रथा लगायत कुरीति अन्य नगरी समृद्ध समाज निर्माण हुन्न । हामी सामाजिक रुपान्तरणको अभियानमा छौ । समग्र पालिकालाई नै जिल्लाकै पहिलो पालिकाका रुपमा बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य राखेको अध्यक्ष बोहोराको भनाई छ ।

जसमा विवाह उमेर समूहका २० वर्ष मुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणले भेटाएपछि जिल्लाकै पहिलो वडा र वस्तिका रुपमा बालविवाह मुक्त गाउँ घोषणा गरिएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताउनुभयो । 

उहाँले भन्नुभयो,“जिल्लाभर पातारासी क्षेत्र सबैभन्दा बढी बालविवाह हुने क्षेत्रका रुपमा कहलिएको छ । पातारासीलाई गरिबी,अशिक्षाको उपनामले चिनिन्थ्यो । तर साझेदार संस्थाहरूको सहयोग,पालिकाको पहल तथा नागरिकको सक्रियतामा बालविवाहकै केन्द्रबिन्दु मानिने पातारासीका दुर्गम बस्ती बालविवाह मुक्त घोषणा गर्न सफल भएका छौ ।” 

पातारासी ५ का चार गाउँका १० जोडिले चालू आवको हाल सम्म उमेर पुगेर विवाह गरेका छन् । अन्य २० वर्षमुनिका कसैले पनि विवाह गरेको नपाइएपछि बालविवाह मुक्त वडा घोषणा गरेको किर्डा नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताउनुभयो । उहाँका अनुसार पातारासीमा २० वर्षमुनि विवाह गर्ने शुन्यमा झरेका छन् । 

पातारासीको ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार,समूह परिचालन तथा किर्डाक द्वारा (बाल स्पोन्सर) परियोजना लागू गरेर अन्ततः बालविवाह शुन्यमा झार्न सफल भएको किर्डाक नेपालका सामाजिक परिचालक रामशंकर दवाडीले उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लाका सरोकारवालाहरुले बालविवाहको स्थितिबारे सर्वेक्षण गरिएको थियो ।

यद्यपि, किर्डाकले पातारासीमा बाल संरक्षण कार्यक्रम २०६७ सालदेखि सञ्चालन गरेको उहाँको भनाई छ  । पातारासीका अन्य वडालाई बालविवाह मुक्त घोषणा गर्न कार्यक्रम सञ्चालन गरिने छ । 

पहिले बालविवाह भयावह, अहिले शुन्य

जुम्लाको पातारासी गाउँपालिका जिल्लाका आठ पालिकामध्ये बालविवाह धेरै हुने पालिकाका रुपमा कहलिएको थियो । गरिबी,अशिक्षा,देखासिकी र परम्परागत कारणले पातारासीमा सानै उमेरमा विवाह हुन्थ्यो । पढ्नु लेख्नु जागिर खानु भन्दा छिटै बिहे गरिदिए छोराछोरीले घर गरेर खाने र ढुक्क हुने विश्वास पातारासीका अभिभावकमा थियो ।  जसका कारण पातारासीका बालबालिका शिक्षा, स्वास्थ्य रोजगारका अवसरबाट वञ्चित हुँदै आएका थिए । 

जुम्लामा बालविवाहको एकिन सरकारी तथ्याङ्क कतै छैन । तर जनस्वास्थ्य कार्यालय जुम्लाले आव २०७७/७८ जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै आमा बनेको अर्थात् बालविवाह गरेको तथ्याङ्क सार्वजनिक गर्‍यो । जस मध्य सबैभन्दा बढी पातारासी गाउँपालिकाका मात्रै १ सय ३४ जना किशोरीले बालविवाह अर्थात् २० वर्ष नपुगी बच्चा जन्माएको भेटियो । 

यो तथ्याङ्क हेर्दा जिल्लामै सबैभन्दा बालविवाह पातारासीमा हुने गरेकोमा दुई मत थिएन् । शिक्षा, चेतनाको अभाव तथा गरिबीका कारण पातारासीका दूर दराजमा विद्यमान बालविवाह अन्त्य गर्नका लागि स्थानीय सरकार, किर्डाक, वल्डभिजन, सर्वोदय नेपाल लगायतका विकास साझेदार संस्थाले लामो समयदेखि विभिन्न कार्यक्रम गर्दै आएका थिए । 

केही हप्ता अघि मात्र पातारासी पालिकाका ७ वटै वडामा साताव्यापी बालविवाह मुक्त अभियान थालेको थियो । भने किर्डाकले विगत तीन वर्षदेखि विभिन्न समूह मार्फत जनचेतनामूलक कार्यक्रम गर्दै आएको थियो ।  जसका परिणाम स्वरूप बालविवाहकै केन्द्रबिन्दु मानिएको पातारासीको ५ नम्बर वडालाई अप्रत्यासी रुपमा जिल्लाकै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button