तपाईँ सुन्दै हुनुहुन्छः

प्रशारणको जननी रेडियो नेपाल समावेशी नेपालको साझा चौतारीको रूपमा स्थापित भएकाे छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना, शिक्षा, मनोरञ्जन र अभिप्रेरणामार्फत आम जनतालाई जागृत गराउँदै आएको प्रशारणको जननी रेडियो नेपाल समावेशी नेपालको साझा चौतारीको रूपमा स्थापित भएको बताउनुभएको छ ।

रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै मन्त्री शर्माले २००७ सालको क्रान्तिद्रष्टा र तत्कालीन क्रान्तिकारी योद्धाहरूको युगीन आवाजको रूपमा उदाएको रेडियो नेपालको आफ्नै गौरवमय इतिहास रहेको उल्लेख गर्नुभएकाे छ ।

बदलिएको राजनीतिक परिदृश्य, सूचना प्रवधिमा आएको अभूतपूर्व परिवर्तन र नेपाली जनतामा जागृत चेतनाको उभारलाई आत्मसात गर्दै जनताको सूचना र मनोरञ्जनको हकलाई थप स्थापित गर्न आज पनि रेडियो नेपालको दायित्व उत्तिकै सान्दर्भिक रहेको मन्त्री शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।

२१ भाषामा समाचार, २० भाषामा कार्यक्रम एवं समयसापेक्ष गीत/सङ्गीतका साथ आम जनताको घरदैलोमा गुञ्जने रेडियो नेपाल नेपाली रेडियोहरूको मानक संस्था रहेको मन्त्री शर्माले स्पष्ट पार्नुभएकाे छ । उहाँले रेडियो नेपालबाट प्रसारित मातृ भाषाका समाचार तथा कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी आगामी दिनमा थप भाषामा कार्यक्रम र समाचार प्रसारण गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने देखिएको उल्लेख गर्नुभएको छ ।

‘नेपाली स्रोताका स्मृतिमा रेडियो नेपालका अनेकखाले प्रभाव छन् । अहिले पनि देशभरि र खासगरी ग्रामीण क्षेत्रका आम जनताको घरघरमा, मेलापात र गोठालो जाँदाको साथी रेडियो नेपाल नै बन्ने गरेको छ । टेलिभिजन र इन्टरनेटको पहुँचभन्दा बाहिरका स्रोतालाई सूचना र मनोरञ्जन दिने मात्र होइन, इन्टरनेटको पहुँचमा रहेका स्रोतालाई क्षणक्षणमा अनलाइन पोर्टलमार्फत सूचित गर्ने काम पनि रेडियो नेपालले गरिरहेको छ । रेडियो नेपाल गाउँ–शहरका स्रोताको सूचना र मनोरञ्जनको सबैभन्दा भरपर्दो माध्यमको रूपमा स्थापित भइरहनु हाम्रा लागि गौरवको विषय हो’, मन्त्री शर्माले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

हिमाल, पहाड र तराईको भौगोलिक विविधतालाई आत्मसात गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकको मूल्यबोधसहित रेडियो नेपालले मन र माटोलाई जोड्न अझै प्रभावकारी कार्यक्रम उत्पादनमा जोड दिनु आवश्यक रहेको पनि शुभकामना सन्देशमा उल्लेख छ । ‘कला, साहित्य, गीत/सङ्गीत, भाषा, संस्कृति, ज्ञान, विज्ञान तथा सूचना प्रविधिको खोज, विकास र विस्तारलाई थप प्रवर्द्धन गर्नु रेडियो नेपालको अभिष्ट बन्नुपर्छ’, सन्देशमा भनिएको छ ।

मन्त्री शर्माले १५औँ पञ्चवर्षीय योजनाको अन्त्यसम्म नेपाल सरकारले देशका सम्पूर्ण भूभागमा रेडियो प्रसारण पहुँच पुर्‍याउने नीति लिएको उल्लेख गर्नुहुँदै अब देशको शतप्रतिशत भूभागमा रेडियो नेपालको प्रसारण पहुँच विस्तार गर्ने लक्ष्य प्राप्तिका लागि जुट्न आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ ।

‘यो वर्ष मात्रै पाँचथरको सिलौटी डाँडा, पर्वतको दुर्लुङ्कोट र दाङको चौपट्टामा नयाँ एफ.एम. रिले स्टेशन स्थापना गरेसँगै देशभरी ३० वटा एफ.एम. रिले स्टेशनमार्फत प्रसारण पहुँच विस्तार गरिएको छ । यसका अतिरिक्त मिडियम वेभ स्टेशन, डिजिटल माध्यममा रेडियो नेपाल एप्स र इन्टरनेट अनलाइनमार्फत पनि आफ्नो प्रसारण सेवा विस्तार गर्दै लगिएको छ । अब देशको शतप्रतिशत भूभागमा रेडियो नेपालको प्रसारण पहुँच विस्तार गर्ने लक्ष्य प्राप्तिका लागि जुट्न आवश्यक छ । आजको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सुहाउँदो नविनतम प्रविधि उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार तथा थप समावेशी र जनपक्षीय कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनु आवश्यक छ । बदलिँदो समय, प्रतिस्पर्धा र राष्ट्रिय दायित्व समेतलाई हेरेर रेडियो नेपालले आफ्ना कार्यक्रम, समाचार तथा प्रसारण सामग्रीहरूलाई अझ उपयोगी बनाउनु परेको छ । यसका लागि हरतरहले सघाउन सरकार तयार छ’, मन्त्री शर्माले भन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button