तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर ट्रेल रेसमा प्रथम भए उमेश कुलुङ

भोजपुर । अल्ट्रा धाविका मिरा राईको सम्मानमा भोजपुरमा आयोजित छैटौँ भोजपुर ट्रेल रेस प्रतियोगितामा उमेश कुलुङ राई प्रथम हुनुभएको छ । मिराको जन्मस्थल पौवादुङमा गाउँपालिका ५, सानेदुम्माको थर्पुमा आयोजित ५० किलो मिटरको रेसमा उमेशले छ घण्टा दुई मिनेटमा निर्धारित दुरी पार गर्नुभएको थियो ।

प्रतियोगितामा तेह्रथुमका सरोज राई दोस्रो, सोलुखुम्बुका सुमन कुलुङ राई तेस्रो, ताप्लेजुङका दिपक राई चौथो, सोलुखुम्बुका प्रशन राई पाँचौँ, रुकुमका दुर्गराज बुढा छैटौँ र सङ्खुवासभाका सन्देश राई सातौँ हुनुभयो ।

महिलातर्फ भोजपुरको षडानन्द नगरपालिकाकी अनिता राईले सात घण्टा ५४ मिनेटमा निर्धारित दुरी पार गरी प्रथम बन्नुभयो । सिन्धुपाल्चोककी नितु तामाङ दोस्रो र भोजपुरकी जुलीन राई तेस्रो हुनुभयो ।

पुरुष र महिला दुवै समूहतर्फ प्रथम हुँदै सातौँ स्थान प्राप्त गर्ने विजेता धावक धाविकाहरूलाई जनही क्रमशः ५० हजार, २५ हजार, १४ हजार, १२ हजार, १० हजार, ८ हजार र ६ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक मिरा फाउण्डेशनले जनाएको छ । ५० किलोमिटरमा ८१ जनाको सहभागिता रहेको थियो ।

यता १० किलो मिटरको रेस तर्फ ताप्लेजुङका अमिर लिम्बु प्रथम बन्नुभयो । भोजपुरका तान्चोहाङ दोस्रो, सिन्धुपाल्चोकका मिङमार तामाङ तेस्रो, भोजपुरका कुल बहादुर बस्नेत चौथो र भोजपुरकै प्रशान्त राई पाँचौँ हुनुभयो ।

महिलातर्फ छेन्वीमाया राई पहिलो, विनिता राई दोस्रो, जुही राई तेस्रो, नमुना राई चौथो र प्रियङ्का राई पाँचौँ हुनुभएको आयोजक मिरा राई फाउण्डेशनले जनाएको छ ।

१० किलोमिटरको रेसमा पुरुष तथा महिलातर्फ प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः ः १० हजार, ५ हजार, चार हजार ५ सय, ४ हजार, तीन हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा म्याराथुन धावक तथा साउथ एसियन गेममा ३ वटा गोल्ड मेडल विजेता बैकुण्ठ मानन्धर लगायतको पनि उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button