तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ  : राष्ट्रपति पौडेल (भिडियो)

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ यट्खा कुमारी मन्दिर परिसरमा निर्माण गरिएको जोशीको अर्धकदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले राजनीति जनतासँगको निरन्तर सानिध्यतासँगै उनीहरुको सुख, दुःख बुझेर जनताकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्नेमा जोड दिनुभयो । 

“जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुको सुख, दुःख बुझ्ने जोशी समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत व्यक्तित्व हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले जोशीको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीतिक सङ्गठन, जोशी परिवार र आफ्नो लागि अपूरणीय क्षति भएको बताउनुभयो ।

उहाँले जोशीको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारण होनहार नेताका रुपमा स्थापित हुनुका साथै सरल, शालिन, मिलनसार, सहयोगी र कुशल राजनीतिज्ञको छवि बनाउन सफल हुनुभएको चर्चा गर्नुभयो । राष्ट्रपति पौडेलले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न नदिनुका साथै सदाचारिता र इमान्दारिता नै जोशीको  विशेषता भएको बताउनुभयो । राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारी यी तीनै कुराको बराबरी सङ्गम रहेका विरलै मानिसमध्ये जोशी अब्बल दर्जाको भएकाे बताउनुभयो । 

“मैले नविन्द्रलाई  सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र होइन आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रुपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएँं”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले जोशीको शालिक निर्माणले उहाँले देश र जनताका लागि पु¥याउनुभएको योगदानलाई सदैव जीवन्त राख्ने तथा असल र इमान्दार एउटा राजनीतिज्ञको व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन तथा उनीहरुलाई सत्कार्य गर्न सँंधै प्रेरित गर्नेछ । रासस

भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button