चैते छठ अन्तर्गत आज खरना विधि, भोलि सन्ध्याकालीन अर्घ
जनकपुरधाम । तराई मधेशसहित मिथिलाञ्चल क्षेत्रमा अत्यन्तै नियम निष्ठापूर्वक मनाइने चैते छठको दोस्रो दिन आज शुक्लपक्ष पञ्चमीका दिन खरना विधि हुदैछ ।

व्रतीहरू बिहान घर नजिकको नदी, तलाउ एवं सरोवरमा स्नान गरी दिनभरि उपवास बसेर साँझ आफैँले पकाएको गुणको खीर तथा पुरी छठीमैयालाई अर्पण गरेर प्रसादको रुपमा वितरण गर्छन् र आफै पनि नुनरहित खरना खाने गर्दछन् ।
आज राति खरना गरेर व्रतीहरू ४८ घण्टाको उपवासमा बस्ने गर्दछन् । भोलि अर्थात् षष्ठी तिथिका दिन साँझ अस्ताउँदो सूर्यलाई प्रथम अर्घ र सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पर्वको समापन हुनेछ ।
सप्तमी तिथिका दिन दोस्रो पटकको अर्घ दिएपछि पर्वको समापन गरिन्छ र सोही दिन ४८ घण्टाको कठोर व्रतपछि परना अर्थात् नुन सहितको खाना व्रतीहरूले खाने गर्दछन् । यस पर्वमा सूर्यको दुवै स्वरूपको पूजा आराधना गर्ने चलन छ ।
चैते छठमा पनि प्रसादको रुपमा ठेकुवा, भूसवा, केला, नरिवल, उखु, अदुवा, स्याउ, सुन्तला सहितका प्रसाद सामाग्रीहरू टपरी, डगरी, सुपली, छैटी, कोशीया, कुरुवार सहितको भाडामा राखेर भगवान् सूर्यलाई अर्पण गर्ने चलन छ ।








प्रतिक्रिया राख्नुहोस्