तपाईँ सुन्दै हुनुहुन्छः

विपद्को सामना गर्न पूर्व तयारी गर्नुपर्नेमा जोड

जनकपुरधाम । विपद्जन्य जोखिमको दृष्टिकोणले धनुषा जिल्ला उच्च जोखिममा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा संयुक्त रुपमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा सहभागीहरूले विपद् आउनु भन्दा अगाडी नै विपद्को सामनाका लागि उचित तयारी हुनुपर्ने धारणा राख्नुभयो ।

धनुषाका नगरपालिकाका तर्फबाट बोल्दै हंशपुर नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले विपद् जोखिमको क्षेत्रमा तीनै तहका सरकारले कामकाज गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकामा वारुण यन्त्रको व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

अध्यक्षको आसनबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विपद् भनेर नआउने भएकाले विपद्बाट हुने जोखिम न्यूनीकरणको पूर्व तयारीबारे छलफल गर्न बैठक आयोजना गरिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सहितका वक्ताहरूले सबै प्रकारका विपदबाट जोगिनका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button