तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक

रुपन्देही । चैत ४ गतेदेखि सुरु हुने मोफसलमा ठूलो पुरस्कार राशिको तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।
रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने भएको छ ।
बुटवलस्थित एन्फा टेन्किल सेन्टरमा चैत्र ११ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो ।
तिलोत्तमा गोल्डकपको यो २२औँ शृङ्खला हो ।
खेल तालिकाअनुसार चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै ८ र ९ गते सेमिफाइनलका खेल हुने छन् भने चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले गोल्डकप सँगै ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छ भने प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता अवधिभर उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले बताउनुभयो ।
मोफसलमा सर्वाधिक पुरस्कार राशिको तिलोत्तमा गोल्डकप प्रतियोगिताको लागि १ करोड आठ लाखभन्दा बढी खर्च अनुमान गरिएको छ । विगतका प्रतियोगिताभन्दा यसपटक पुरस्कार राशि वृद्धि गरिएको र अन्य खर्च बढेकोले बढी खर्च अनुमान गरिएको अध्यक्ष पुनले बताउनुभयो । गोल्डकप प्रतियोगिताको २० औँ संस्करणमा ७ लाख ७७ हजार ७७७ रुपैयाँ पुरस्कार राशि रहेकोमा २१ औँ संस्करणमा पुरस्कार राशि बढाएर ८ लाख ८० हजार पुर्याएको थियो ।
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरु भएको प्रतियोगिताको २२ औँ संस्करण ४६ वर्षमा हुन लागेको हो ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल सङ्घले सञ्चालन गर्दै आएको छ । २०३३ देखि २०३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि २०४३ सालदेखि २०५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता २०५६ सालमा फेरि रोकिएको थियो ।
२०५७ र २०५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि त्यसपछि २०६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि २०६५ सालमा सञ्चालन भएपनि २०६६ मा रोकिएर फेरि २०६७ सालमा सञ्चालन भएको थियो । २०६८ देखि २०७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप २०७१ सालमा सञ्चालन भए पनि पछिल्लो पटक २०७२ सालमा सञ्चालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।
२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दसौँ र तेह्रौँमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौँ र छैटौँमा कालिका स्पोर्टिङ क्लब, सातौँ जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।
त्यस्तै, आठौँमा आरएनएसी, एघारौँमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौँ र सोह्रौँमा त्रिभुवन आर्मी क्लब, चौधौँ र अठारौँमा रुपन्देही ११, पन्ध्रौँमा फ्रेन्ड्स क्लब, सत्रौँमा जावलाखेल यूथ क्लब र १९ औँ संस्करणको उपाधि सिएमसी सङ्कटा क्लबले जितेका थिए । २० औँ तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टार क्लब काठमाडौँ र २१ औँ क्यामरुनको दाफिन्स क्लबले जितेको थियो ।
चार वर्षदेखि रोकिएको गोल्डकप आयोजनामा लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख सहयोग गरेको छ । एन्फा उपाध्यक्ष तथा फुटबल संघ रुपन्देहीका पूर्व अध्यक्ष दीर्घबहादुर केसी कुमारले फुटबल प्रतियोगितामा नेपालमै प्रतिष्ठित तिलोत्तमा गोल्डकपलाई रुपन्देहीका सबै क्षेत्रमा रहेकाहरूले अपनत्व लिनुपर्ने बताउनुभयो ।
“रुपन्देहीलाई पहिचान दिने यो देशमै प्रतिष्ठित र इतिहास बोकेको कप हो, यसलाई व्यवस्थित बनाउन सबै क्षेत्रको महत्त्व हुन्छ, खेल प्रेमीलाई यो ठूलो अवसर हो, यसको निरन्तरता र व्यवस्थापनका लागि हामी लागिरहेका छौँ, रुपन्देही आउने सबै क्षेत्रका खेलाडी तथा खेल प्रेमीलाई राम्रो वातावरण कसरी दिन सकिन्छ भन्ने सबैले सोच्नुपर्दछ”, उहाँले भन्नुभयो ।
यो क्षेत्रमा फुटबल खेलाडी उत्पादन गर्दै आएको एन्फा एकेडेमीमा हुने यो खेलले रुपन्देहीको पहिचान बढाएको खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले बताउनुभयो । “मोफसलमा यति ठूलो महत्त्व र इतिहासको प्रतियोगिता नै कम छन्, यो सबैले बुझ्न जरुरी छ”। अधिकारीले भन्नुभयो।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फुटबल सङ्घले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्