तपाईँ सुन्दै हुनुहुन्छः

झापाका तीन क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अन्योल

भद्रपुर झापा । झापाका १३ वटा आङ्गिक क्याम्पस मध्ये तीन वटा क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा परेको छ ।

विद्यार्थी सङ्गठनहरूले ती क्याम्पसमा तालाबन्दी गरेपछि चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन अन्योलमा परेको हो ।

विद्यार्थीहरूले जिल्लाका काँकरभिट्टा बहुमुखी क्याम्पस, गौरादह बहुमुखी क्याम्पस र गरामनी क्याम्पसमा तालाबन्दी गरेका छन् ।

काँकरभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित छ । त्रिभुवन विश्व विद्यालयको निर्वाचनसम्बन्धी आचारसंहिताअनुसार आचारसंहिता लागू भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ तर काँकरभिट्टा क्याम्पसले विद्यार्थी भर्ना गरेकाले विवाद उत्पन्न भएको विद्यार्थी सङ्गठनहरूको दाबी छ ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले आचारसंहिता विपरीत क्याम्पसले विद्यार्थी भर्ना गरेको भन्दै विरोध गरेपछि क्याम्पस प्रशासनले अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको छ भने अनेरास्ववियु लगायतका विद्यार्थी सङ्गठनले गेटमा लाला लगाइदिएका छन् । 

सर्वदलीय बैठक बोलाएर निर्वाचन गराउने सहमति भए पनि विद्यार्थी सङ्गठनहरूले ताला नखोल्दा निर्वाचनको वातावरण बन्न नसकेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताउनुभयो ।

त्यस्तै गौरादह बहुमुखी क्याम्पसको प्रशासन कक्षमा तीन विद्यार्थी सङ्गठनले ताला लगाएका छन् । 

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर क्याम्पस प्रशासनले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा गत शुक्रबार नै तालाबन्दी गरेका थिए । अहिले ताला खोलिए पनि अहिलेसम्म निर्वाचनका कुनै पनि कार्यक्रम सुरु गरिएको छैन ।

त्यस्तै गरामनी क्याम्पसमा नेपाल विद्यार्थी संघ र राप्रविसंघले तालाबन्दी गरेका छन् । 

अनेरास्ववियुका विद्यार्थीहरू स्ववियुमा निर्विरोध निर्वाचित भएकोमा त्यसप्रति असहमति जनाउँदै ती दुई सङ्गठनले तालाबन्दी गरेको क्याम्पस प्रमुख नवीन रायले बताउनुभयो । ताला खुलाउने विषयमा पहल भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button