ठेक्का लागेको ९ वर्षमा पनि बनेन गेरुवाई खोलाको पुल

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित गेरुवाई खोलाको पुलको ठेक्का सम्झौता भएको ९ वर्षमा पनि निमार्ण सम्पन्न हुन सकेको छैन ।
रंंगेली–कानेपोखरी सडक अन्तर्गत पर्ने खोलाको पुल अलपत्र अवस्थामा हुँदा सो ठाउँमा पटक पटक सवारी दुर्घटना हुँदा ९ वर्षमा पाँच जनाले ज्यान गुमाई सकेका छन् ।
दुर्घटनाकाे कारण मानवीय क्षति हुनुका साथै सवारी साधन आवत जावतमा समस्या हुने गरेको स्थानीयको गुनासो छ । कानेपोखरी गाउँपालिका–३ का सन्तोष साहले निमार्ण कम्पनीको लापरबाहीका कारण दुर्घटना हुँदा मानवीय क्षति हुने गरेको बताउनुभयो ।

खोलामा आउने बाढीले डाइभर्सन बगाउने र त्यस्को वैकल्पिक बाटो सुनसरी मोरङ सिचाई आयोजनाको नहर प्रयोग हुँदा ठुलाठालु सवारी साधनको आउजाउले नहरको संरचनामा समेत क्षति पुग्न थालेको उहाँको भनाई छ ।
भ्याट सहित एक करोड ३४ लाख २३ हजार रुपैयाँमा २०७१ साल कार्तिक महिनामा पुलको ठेक्का लागेको थियो । पिलर निमार्णको काम सकिए पनि पुलमाथिको स्लोपका ढलान हुन भने बाँकी छ । पुल निमार्ण कम्पनीले अहिले सम्म साढे ७६ लाख बढी भुक्तानी लिई सकेको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।
पुलले पूर्णता नपाउँदा लामो समयदेखि सास्ती व्योर्हनु परिरहेको रँगेली नगरपालिका–८ का युवराज आचार्यको भनाई छ । पूर्व पश्चिम राजमार्गलाई जोड्ने हुलाकी सडक अन्तर्गत पर्ने सो पुल अलपत्र अवस्थामा हुँदा विद्यार्थीलाई विद्यालय जान समेत वर्षा याममा समस्या हुने गरेको उहाँको भनाई छ ।
भारतीय सीमा देखि पूर्व पश्चिम राजमार्गलाई जोडने रँगेली–कानेपोखरी सडकमा दैनिक सयौँ सवारी साधन सञ्चालन हुँदै आएका छन् । वर्षा याममा सो खोलामा ठुलो बाढी आउने गरेको छ ।
सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख सुदर्शन कार्कीले ठेक्का सम्झौता अनुसार केही समय बाँकी रहेकाले तोकिएको समयमा पुल सम्पन्न नभए निमार्ण कम्पनीलाई कारबाही हुने बताउनुभयो । निमार्ण कम्पनीलाई फोन गरेर पुलको काम सम्पन्न गर्न आग्रह गरेको र आगामी चैतसम्ममा पुलको काम सम्पन्न गर्ने निमार्ण कम्पनीले जानकारी गराएको कार्यालय प्रमुख कार्कीको भनाई छ । पुल नबन्दा जनताले धेरै सास्ती पाइरहेकाले अव एक महिनामा काम सम्पन्न नभए कारबाही प्रक्रिया अघि वढछ उहाँले भन्नुभयो ।
१५ मिटर लामो पुल सम्पन्न गर्न गर्न स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पटक पटक ज्ञापनपत्र वुझाएपनि काम पुरा हुन नसकेको स्थानीयको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्