वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सबै वामपन्थीलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।
यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस तथा २१औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले वामपन्थी आन्दोलनले देशको स्वाधीनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक न्याय र जनताका लागि सुरक्षित भविष्य निर्माण गर्ने सक्ने भएकोले वामपन्थी एकजुट हुन आह्वान गर्नुभयो ।
“सहिदको बलिदानलाई सम्झना गर्दै सङ्कटबाट मुलुकलाई जोगाउनका लागि फेरि पनि देशभक्त, लोकतान्त्रिक शक्तिहरू, सामाजिक न्यायका पक्षधर शक्तिहरू ध्रुवीकृत हुन जरुरी छ,” उहाँले भन्नुभयो, “विगतमा हामीले नेताको टाउको जोडेर कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने प्रयास गर्यौ तर असफल भए अब हामी कार्यकर्ताका भावना जोड्न चाहन्छौँ ।”
महासचिव पोखरेलले देश बनाउनका लागि देशभक्ति आन्दोलन, परिवर्तन सामाजिक न्यायका पक्षमा विश्वास गर्ने, बलियो राष्ट्रिय शक्ति निर्माण गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले गलत मान्यताविरुद्ध सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
नेपालको मौलिक संस्कृतिलाई तहसनहस पार्न थालेको भन्दै त्यस खालको चुनौतीलाई सामना गर्न सके नेपालको समृद्धि असुरक्षित हुने उहाँले दाबी गर्नुभयो ।
एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेलले एमाले बलियो भए मात्रै यदु गौतमको सपना साकार पार्न सकिने बताउनुभयो ।

उक्त अवसरमा महासचिव पोखरेलले गोरखापत्र दैनिकका पत्रकार लोकबहादुर चौधरी (लक्की)लाई यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्नुभयो ।
चौधरीले पुरस्कार ग्रहण गर्दै आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो । पुरस्कारको राशि रु २० हजारको छ । विसं २०५३ सालदेखि कैलालीबाट पत्रकारितामा सुरु गर्नुभएका चौधरीलाई कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिन निर्णय गरिएको हो ।
यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष यदु स्मृति दिवसको अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।
तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव यदु गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा विसं २०५५ फागुन २१ मा हत्या गरिएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्