तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ परिस्थितिमा देश तथा पार्टीमा थप चुनौती : अध्यक्ष नेपाल

जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आठ दलको समर्थनसहित राष्ट्रपति पदका लागि उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जीत सुनिश्चित भएको बताउनुभएको छ ।

पार्टीको एक महिने पार्टी सुदृढीकरण अभियान अन्तर्गत धनुषाको लालगढमा आज आयोजना गरिएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नयाँ अवस्थामा बनेको आठ दलको समर्थन काँग्रेसका उम्मेदवारको पक्षमा भएकोले राष्ट्रपति पदमा अपेक्षित परिणाम आउन बताउनुभयो ।

अध्यक्ष नेपालले मुलुकमा पछिल्लो पटक नयाँ राजनीतिक अवस्था बनेसँगै देश तथा पार्टीका लागि थप चुनौती बढेका उल्लेख गर्नुहुँदै चुनौतीको सामना गर्नका लागि पार्टी एक ढिक्का भएर अगाडि बढिसकेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले स्थानीय, प्रदेश तथा संघीय चुनाव हुनुभन्दा केही समय अगाडी मात्र पार्टीको निर्माण भएकाले अपेक्षा अनुसारको परिणाम नआएको उल्लेख गर्नुहुँदै एक महिने पार्टी सुदृढीकरणले पार्टीको सङ्गठन सुधार र मजबुत हुने  बताउनुभयो ।

अध्यक्ष नेपालले वडादेखि जिल्ला हुँदै प्रदेश समितिलाई पनि मजबुत बनाउनमा अभियानले मद्दत पुग्ने भएकाले कार्यकर्तालाई सङ्गठनको निर्माणमा जुट्नका लागि निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button