तपाईँ सुन्दै हुनुहुन्छः

लेकवेशी नगरपालिकाले डाक्टर पढाउँदै 

सुर्खेत । लेकवेशी नगरपालिकाले आफ्नै लगानीमा डाक्टर पढाउन शुरु गरेको छ । 

नगरक्षेत्रमा एकजना पनि डाक्टर नभएपछि पालिकाले आफ्नै लगानीमा प्रति वर्ष एक जनालाई डाक्टर पढाउन कार्यक्रम शुरु गरेको हो । स्वास्थ्यकर्मीको अभावलाई परिपूर्ति गर्न निर्वाचनताका जनतासँग गरेको प्रतिबद्धता मध्ये नगरपालिकाकै लगानीमा चालु आर्थिक वर्षदेखि डाक्टर पढाउन शुरु गरिएको नगर प्रमुख उमेशकुमार पौडेलले जानकारी दिनु भयो । 

उहाँले यसै आर्थिक वर्षदेखि शुरु गरिएको ‘डाक्टर पढाउने कार्यक्रम’ अन्तर्गत छनौटमा परेका लेकबेशी नगरपालिका–१, निवासी नितेस पौडेललाई स्कुल अफ मेडिकल साइन्स धुलिखेलमा अध्ययन गर्न पठाइएको बताउनु भयो । उहाँका अनुसार पहिलो किस्ता बापत चालु आर्थिक वर्षमा १३ लाख रुपैयाँ दिएर अध्ययनमा गर्न लगाइएको छ । ‘पूर्ण छात्रवृत्तिमा पाँच वर्षसम्म (एमबिबिएस) अध्ययन पुरा नगरुन्जेल नगरपालिकाले सम्पूर्ण खर्च व्यर्होने छ,’ उहाँले भन्नु भयो , ‘एमबिबिएस अध्ययन पुरा गरिसकेपछि पूर्ण छात्रवृत्तिमा त्यसरी अध्ययन गरेका डाक्टरले पाँच वर्षसम्म नगरपालिका क्षेत्रमा अनिवार्य सेवा दिनु पर्नेछ ।’ 

नगरपालिकाले नै निःशुल्क ‘डाक्टर पढाउने कार्यक्रम’ कार्यक्रम शुरु गरेपछि युवाहरूमा उत्साह थपिएको उहाँको भनाइ छ । नगरपालिकाले ‘डाक्टर पढाउने कार्यक्रम’ लाई ऐन नै बनाएर कार्यान्वयन गरेपछि नगरका भित्रका प्रति वर्ष एक जना विद्यार्थीले निःशुल्क डाक्टर अध्ययन गर्न पाउने नगरपालिकाका सूचना अधिकारी दिपकध्वज हमालले बताउनु भयो । उहाँले वर्तमानमा शिक्षा क्षेत्रमा लगानी गरिएको भएपनि भविष्यमा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता हुने विश्वास व्यक्त गर्नु भयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button