तपाईँ सुन्दै हुनुहुन्छः

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा २०२२ मा ७ हजारभन्दा बढी व्यक्ति पीडित

काठमाडौँ । सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन कार्यक्रममा सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा सो तथ्याङ्क समेटिएको हो ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएका छन् । सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

सन् २०२२ मा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना तथा अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ र तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसहित ६ हजार ७ सय ५४ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिनुभयो ।

सार्वजनिक तथ्याङ्क अनुसार महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी ४ हजार २ सय २८ जना पीडित देखिएको छ । महिला विरुद्धको हिंसामा पनि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १ हजार ६ सय २३, सुदूरपश्चिम प्रदेशमा ९ सय ५६, प्रदेश १ मा ४ सय ५७, बागमती प्रदेशमा ४ सय ३४, गण्डकी प्रदेशमा ३ सय ३७, कर्णाली प्रदेशमा २ सय ११ र मधेश प्रदेशमा २ सय १० जना पीडित भएका इन्सेकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button