नेता भण्डारी र उहाँकी आमा ‘ग्यास दुर्घटना’मा परेको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेता एवं सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारी ग्यास दुर्घटनामा परी घाइते हुनुभएको र आमाको उपचारका क्रममा निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय रहँदै आउनुभएकी ८६ वर्षीया हरिकला भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।
डा. भण्डारीको स्वास नलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकोले चिकित्सकको सिफारिसबमोजिम थप उपचारका लागि आजै श्री एयरलाइन्सको विमानमार्फत् भारतको मुम्बईस्थित नेशनल वर्नस् सेन्टरमा लगिएको उल्लेख गर्दै शाेक वक्तव्यमा अगाडि भनिएको छ, ‘नेपाली कांग्रेस उहाँ (चन्द्र भण्डारी)को शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’
कांग्रेसले दिवंगत हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकाे छ ।









प्रतिक्रिया राख्नुहोस्