तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच बैठक, निर्यात खुलाउन चीन सरकार सकारात्मक

सिन्धुपाल्चोक । चिनियाँ सीमा सुरक्षा अधिकारी र नेपाली सुरक्षा अधिकारीबीचको बैठक सम्पन्न भएको छ । बिहीबार नेपाल चीनबीचको सिमाना मितेरी पुलमा भएको बैठकमा नाकामा हुने अपराध नियन्त्रण र नाका सञ्चालन सम्बन्धी छलफल गर्दै  बैठक सम्पन्न भएको हो ।

बैठकमा बन्द नाका खुलाउने, नाकामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने र नेपालबाट हुने निर्यातको विषयमा खुलेर छलफल भएको बैठकमा सहभागी सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

एकतर्फी चीनबाट आयात मात्र भइरहेको तातोपानी नाकाबाट निर्यात पनि खुलाउन चीन सरकार सकारात्मक रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण विगत ३ वर्षदेखि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच बैठक बस्न सकिरहेको थिएन । कोरोना महामारीको संक्रमण कम भएसँगै भौतिक उपस्थितिमा आज बैठक बसेको हो ।

बैठकमा नेपालकातर्फबाट प्रमुख जिल्ला अधिकारी न्यौपानेसहित सीमा सुरक्षा सशस्त्र प्रहरीका एसपी रबी केसी, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी बालनरसिंह राणा, अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारी र चीनका तर्फबाट बोर्डर कन्ट्रोलर प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गेसाङ, सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेशनका प्रमुखद्वय डान डुओ र जियान क्यान लगायतका सहभागी थिए ।

बैठकमा चिनियाँ अधिकारीहरुले बन्द तातोपानी नाका पूर्ववत् अवस्थामा नै सञ्चालन गर्न  के गर्न सकिन्छ भनेर नेपाली अधिकारीहरूसँग राय मागेका थिए । चिनियाँ अधिकारीहरुले निकासी बस्तुको चेकजाँच गर्न खासाको रमितेमा निकासी घरसमेत बनिरहेको जानकारी दिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनु भयो ।

२०७२ सालको भूकम्प र लगत्तै आएको भोटेकोसी बाढीका कारण तातोपानी नाका कहिले खुल्ने त कहिले बन्द हुँदै आएको छ । कोरोना महामारीका कारण नाका निकै प्रभावित भयो । स्वास्थ्य सुरक्षाको कारण देखाउँदै चीन सरकारले एकतर्फीरुपमा आफ्नो सामान नेपाल पठाउने गरेता पनि नेपालबाट हुने निकासीमा भने रोक लगाउँदै आएको छ । दुईतर्फी नाका सञ्चालनको बारेमा  भने अहिलेसम्म सहमति हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button