तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक निकायमा नियुक्तिविरुद्धको रिटमा आज सुनुवाई हुने

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज अन्तिम सुनवाइ हुने भएको छ । 

यसअघि सर्वोच्च अदालत संवैधानिक इजलासले पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएपछि संवैधानिक निकायमा गरिएको नियुक्ति विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई हुन लागेको हो । 

पटक–पटक सुनुवाइ प्रभावित भएपछि संवैधानिक इजलासले २०७९ साउन  ११ गते पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएको थियो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रिया नपु¥याई संवैधानिक परिषद्को बैठक डाकेको र त्यो असफल भएपछि अध्यादेशका आधारमा बैठक डाकेर संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्न नाम सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले संवैधानिक पदाधिकारीहरूको नियुक्तिमा संवैधानिक, कानूनी र प्रक्रियागत त्रुटि रहेको भन्दै नियुक्ति खारेज हुनुपर्ने माग गर्नुभएको छ । 

तत्कालीन प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर संवैधानिक परिषद्को बैठक डाकेको र गणपुरक सङ्ख्या नभएको अवस्थामा पदाधिकारी सिफारिसको निर्णय गरिएकाले प्रक्रिया मिचिएको रिट निवेदकको दाबी छ ।

रिट निवेदनमा प्रतिनिधिसभा विघटन भएपछि संसदीय सुनुवाइ नै नहुने अवस्थामा नाम सिफारिस गरेर जबर्जस्ती नियुक्त गरिएको भन्दै रिट निवेदनमा सबै नियुक्ति बदर हुनुपर्ने माग राखिएको छ ।

गएको साउन ११ गते सबै कागजात ल्याउन र मुद्दा नसर्ने सुनिश्चित गर्न माग गरिएपछि संवैधानिक इजलासले सोही अनुसारको आदेश दिएको थियो । त्यसपछि पुस २७ गतेका लागि पेशी तोकिए पनि पृथ्वी जयन्ती परेकाले सुनुवाइ हुन सकेको थिएन । सोही मुद्दाको पेशी आजलाई तोकिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button