तपाईँ सुन्दै हुनुहुन्छः

उत्पादन वृद्धि गर्न किसानलाई ओखर खेती सम्बन्धी तालिम

जुम्ला  । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाका किसानलाई ओखर खेतीको प्रविधि सम्बन्धी तालिम दिएको छ । 

ओखर खेतीको विधि, उत्पादन वृद्धि र श्रम अनुसारको उत्पादन गरी किसानलाई आत्मनिर्भर बनाउन ज्ञान पनि आवश्यक रहेका भन्दै आज ओखर खेतीको प्रविधि सम्बन्धी तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 

तालिममा २२ जना किसानको सहभागिता रहेको थियो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याउ ओखरको साना कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रममार्फत छनोटमा परेका ८ समूहका २२ जना किसानलाई पहिलो चरणमा तालिम दिइएको गाउँपालिकाका कृषि शाखा प्रमुख पदम नेपालीले बताउनुभयो । 

ओखर पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्नुअघि खेतीबारे किसानलाई विविध प्रक्रिया सिकाउन एक दिने तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार ओखर पकेटका लागि १ वटा सहकारी, २ वटा समूह र ५ जना उद्यमी पहिलो चरणमा छनोटमा परेका छन् । 

ओखर पकेट क्षेत्र कार्यक्रम तातोपानीका वडा नं. १, ४, ६, ७ र ८ मा सञ्चालन भइरहेको छ । तातोपानीमा स्याउ ओखर खेतीको सम्भावना राम्रो छ । 

तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले भन्नुभयो,“जुम्ला स्याउ पछि ओखरमा आत्मनिर्भर जिल्ला हो । किसानहरूसँग खेती प्रविधिबारे पर्याप्त ज्ञान नहुँदा उत्पादन वृद्धि हुन सकेको छैन । श्रम अनुसारको आम्दानी लिन आवश्यक ज्ञान सिप चाहिन्छ । त्यसैले पालिकाका किसानलाई खेती प्रविधिको तालिम दिइएको हो ।”

तातोपानी गाउँपालिकामा पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुनु पूर्व किसानलाई खेती प्रविधिबारे अनिवार्य ज्ञान प्रदान गर्ने योजनामा रहेको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button