पहिरोबाट विस्थापित परिवारलाई जग्गाधनी पुर्जा वितरण
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएकाहरूले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् ।
जुगल गाउँपालिका २, लिदीमा पहिरोबाट विस्थापित ४१ घरपरिवारले साँढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन् ।

२०७७ साल साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्ती माथिबाट पहिरो जाँदा २ सय ९ घरधुरी विस्थापित भएका थिए । तीमध्ये ४१ घरपरिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका ४ देउरालीमा सुरक्षित जग्गा व्यवस्थापन गर्दै जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोले जानकारी दिनुभयो । पुर्जा सिन्धुपाल्चोक क्षेत्र न १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ले आज वितरण गर्नुभएको हो ।
सो अवसरमा उहाँले नयाँ बस्ती विकास गर्ने गरी राज्यले औपचारिक रूपमा जग्गाधनी प्रमाण पुर्जा दिएको जानकारी दिँदै आगामी दिनमा बाढी प्रभावित र विस्थापितका लागि आयआर्जन, स्वरोजगार जनजीविकामा टेवा पुग्ने कार्यक्रम ल्याइने बताउनुभयो ।
पहिरोबाट उक्त स्थान बसोबासका लागि असुरक्षित र जोखिम रहेको विज्ञहरूको निष्कर्षपछि ६४ घरधुरीलाई सेलाङको बाँसखर्क, २७ घरधुरीलाई बराम्चीको चनौटे र ७५ घरधुरीलाई लिदीको सिमल डाँडामा स्थानान्तरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।
विस्थापितहरूलाई आवास निर्माणका लागि सरकारबाट प्रति घरधुरी पाँच लाख रुपैयाँ उपलब्ध भइसकेको सापकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्