आचार्य आत्मदाह प्रकरणको सत्यतथ्य छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले हिजो संसद् भवन नयाँबानेश्वरअगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको सत्यतथ्य छानबिनका लागि आवश्यक कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय आचार्यले सामाजिक सञ्जालमा लेखेका विषयको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको बैठकपछि गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
मन्त्री लामिछानेले आचार्यले उठाएका सबै विषयको छानबिन गरी सत्यतथ्य बाहिर आएपछि आवश्यकता अनुसार परिवारलाई राहत दिने तथा सामाजिक सञ्जालमा लेखेको जस्तै अन्यायमा परेको पाइए थप कारबाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
मन्त्री लामिछानेले स्वर्गीय आचार्यले उठाएका विषयहरूमाथि आजदेखि नेपाल प्रहरीले छानबिनको प्रक्रिया सुरु गर्ने र आवश्यक देखिएमा विज्ञहरू सम्मिलित समिति बनाएर अगाडि बढाउने पनि बताउनुभयो ।
आचार्यले हिजो दिउँसो संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आफैँले आगो लगाई आत्मदाहको प्रयास गर्नुभएको थियो भने उपचारका क्रममा आज बिहान निधन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्