कर्णालीमा २ हजार घर निर्माण, १७ किमी सडक कालोपत्रे

जुम्ला । कर्णाली प्रदेश सरकारले बितेको एक वर्षमा २ हजार बढी घर निर्माण तथा १७ किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेशका १० वटै जिल्लामा गरी एक वर्षमा जम्मा १७ किमी सडक मात्रै कालोपत्रे गरिएको छ । भने, दुई हजार १ सय बढी घर निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ ।
बिदाई हुन लागेका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार बितेको एक वर्षमा कर्णालीका १० जिल्लामा एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ५ सय ९ वटा घर,जनता आवास अन्तर्गत १ हजार ५ सय ७१ घर र विपन्न परिवारका लागि १ सय १ वटा गरी जम्मा २ हजार १ सय ८१ वटा घर निर्माण भएका छन् ।
कर्णाली प्रदेशभर एक वर्षमा कुल १७ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । भने, सोही एक वर्षमा प्रदेशभर १ सय १३ किलोमिटर सडक ग्राभेल र ६ सय २२ किलोमिटर कच्ची सडक निर्माण गरिएको प्रगति विवरणमा उल्लेख छ ।
गत वर्ष कात्तिक १६ गते सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री शाहीले एक वर्षमा कर्णालीको भौतिक विकासले गति लिएको दाबी गरे । उनका अनुसार एक वर्षमै कर्णालीमा १३ वटा झोलुङ्गे र ८ वटा सडक पुल निर्माण भएका छन् । भने,सातवटा सडक आयोजनाको बहुवर्षीय ठेक्का सम्झौता,वीरेन्द्रनगरमा प्रादेशिक रङ्गशालाको भौतिक पूर्वाधारतर्फ ३३ प्रतिशत काम सम्पन्न र ५ सय ९२ वटा साना सिँचाइ आयोजना निर्माण भएको उहाँको दाबी छ ।

वित्तीय सुशासनको जग बसालेको दाबी
बिदाई हुनुको पुर्वसध्यामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले आफूले प्रदेशमा सुशासनको जग बसालेको दाबी गरे । उहाँले भन्नुभयो ,“मेरो कार्यकालमै तीनै तहको चुनाव भएपछि विकासे काममा अवरोध भयो । तर पनि विगतका वर्ष भन्दा भौतिक विकासले गति लिएको छ । भने, प्रदेशमा सुशासनको जग बसालेका छौँ । कर्णाली टाइम्सको कार्यान्वयन गरेका छौ ।”
साथै, १७ वटा विधेयक प्रदेशसभाबाट पारित भएको, प्रदेश लोकसेवा आयोगले कर्मचारी सिफारिस गर्न थालेको, प्रदेश अस्पतालमा उपकरण व्यवस्थापन गरिएको, स्थानीय तहका पाँचवटा आधारभूत अस्पतालको पूर्वाधार विकास गरिएको प्रगति विवरणमा उल्लेख छ ।
आफ्नो मुख्य ध्यान आर्थिक वित्तीय, सेवा प्रवाहको सुशासन कायम गर्नमा बढी केन्द्रित भएको समेत दाबी गरे । .आफ्नो कार्यकाल सङ्घीयता कार्यान्वयनमा महत्त्वपूर्ण भएको भन्दै उनले यो अवधिमा प्रदेशको गरिबी न्यूनीकरणमा पनि काम गरेको बताए । बहुआयामिक गरिबी ५२ प्रतिशतबाट ३९ प्रतिशतमा झरेको समेत उहाँको दाबी छ ।
पर्यटन विकासका पूर्वाधार निर्माण,डोल्पाको जगदुल्ला हाइड्रोपावर कम्पनीमा ११ करोड ७१ लाख शेयर लगानी भएको,१४ वटा प्रहरी चौकीका भवन निर्माण गरिएको र सहिद तथा बेपत्ताका परिवारलाई जीवन निर्वाह भत्ता वितरणको प्रक्रिया अगाडि बढेको छ ।
‘कर्णालीको विकास र समृद्धिका लागि मेरो नेतृत्वको सरकार सधैँ प्रयासरत रहेको भन्दै पछिल्लो राजनीतिक घटनाक्रमले काँग्रेस कर्णालीमा प्रतिपक्षको भूमिकामा रहने उल्लेख गर्नुभयो । शाहीले २०७८ कार्तिक १६ गते कर्णाली प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए । हाल दोस्रो पटक पनि मुख्यमन्त्री हुने दाउमा शाही हुम्लाबाट निर्वाचित हुनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्