कटान नियन्त्रणका लागि केरुङ्गे खोला तटबन्ध

नवलपुर । (नवलपरासी बर्दघाट सुस्तापूर्व) नवलपुरको सदरमुकाम हो कावासोती नगरपालिका ।
जिल्लाको सदरमुकाम स्थित कावासोती नगरपालिकामा वर्षाको समय त्रासपूर्ण हुने गर्दछ ।
नगरपालिकाको केही वडाहरू छोएर बग्ने केरुङ्गे खोलाका कारण वर्षा याममा यहाँका बासिन्दा त्रासमा रहने गर्दछन् । केरुङ्गे खोलाको बाढीका कारण हुने कटान र डुबानको जोखिमले वर्षा याममा स्थानीयलाई पिरोलिरहेको हुन्छ । कावासोती नगरपालिकाको दुःखका रुपमा समेत चिनिएको केरुङ्गे खोला तटबन्धमा यस पटक कावासोती नगरपालिकाले तदारुकता देखाएको छ ।
वर्षा याममा हुने कटान नियन्त्रणका लागि नगरपालिकाले प्राथमिकताका साथ खोला तटबन्धनको काम अघि बढाएको हो ।
वर्षा याममा बाढीका कारण हुने कटान र डुबान नियन्त्रणका लागि नगरपालिकाले अहिले तटबन्धको काम अघि बढाएको छ । केरुङ्गे खोला कावासोती नगरपालिका भित्र रहेका वडाहरू १, ३, ४, ५ ९,१०, १४,१५ र १६ गरि नौ वटा वडा छोएर बगेको छ । वर्षा याममा यी वडाहरूमा केरुङ्गे खोलको कटान तीव्र हुने गर्दछ । सो समयमा खोला नियन्त्रणको काम गर्न समेत असहज हुने गर्दछ । यसकारण अहिले समयमै यसको नियन्त्रणका लागि तटबन्धको काम अघि बढाएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।

केरुङ्गे खोलाको क्षति धेरै भएकाले यसको नियन्त्रणका लागि तटबन्धन लगायतका योजना नगरपालिकाको प्राथमिकतामा रहको उहाँले बताउनुभयो । कावासोती नगरपालिका वडा न नम्बर ४ र ५को केही भागमा अहिले कावासोती नगरपालिका र नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको सहकार्यमा तटबन्धको गरिएको छ ।
नगरपालिकाले केरुङ्गे खोला नियन्त्रणलाई प्राथमिकता दिएर काम अघि बढाउने नगर प्रमुख भुसालले भन्नुभयो । ‘हामी प्रमुख कामका रुपमा केरुङ्गे खोला नियन्त्रण र यसको तटबन्धलाई लिएका छौँ, सोही अनुसार काम अघि बढाउँदै छौ’ मेयर भुसालले भन्नुभयो ‘ चालु आर्थिक वर्षको बजेटमा समेत तटबन्धलाई प्राथमिकता दिएका छौ, तेही अनुसार काम हुन्छ ।’ वर्षा याममा बाढीले त्रासपूर्ण बनाउने केरुङ्गे हिउँदमा भने सुख्खा हुने गर्दछ ।
अहिले सुख्खा हुँदा काम गर्न समेत सहज हुने भएकाले कामलाई अघि बढाएको उहाँको भनाई छ ।
केरुङ्गे खोलाको थप तटबन्धनका लागि काम हुन लागेको नगर प्रमुख भुसालले बताउनुभयो । चाँडै विभिन्न वडाका जोखिमपूर्ण स्थानमा पहिले तटबन्धको काम गर्नेगरि एकिकृत रुपमा ठेक्का निकाल्ने तयारी समेत गरिएको नगर प्रमुख भुसालले बताउनुभयो ।
केरुङ्गे खोलाको दीर्घकालीन नियन्त्रणका लागि थप स्रोत पहिचानका लागि आफू लागि रहेको उहाँको भनाई छ । ‘नगरपालिकाका भित्र करिब १५ किलोमिटर एकतर्फ र दुई तर्फ करिब ३० किलोमिटरमा दीर्घकालीन तटबन्धको काम गर्नुपर्ने छ, हाम्रो स्रोतले सकेको गर्छौ, नभए प्रदेश, सङ्घबाट भएपनि स्रोत खोज्न लाग्छौँ’ मेयर भुसालले भन्नुभयो ।
कावासोती नगरपालिकामा रहेको केरुङ्गे खोलाले वर्षेनी सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । यसको नियन्त्रण गरि खोलाका कारण हुने क्षति रोक्न आफ्नो स्थानबाट पहल गरिरहेको कावासोती –४, का वडा अध्यक्ष नारायण प्रसाद लोहनीले बताउनुभयो । ‘यसको नियन्त्रण सीमित स्रोतबाट चुनौतीपूर्ण छ, तर हामी सकेको स्रोत पहिचान गरि नियन्त्रणमा लागेका छौ’ वडा अध्यक्ष लोहनीले भन्नुभयो ।
केरुङ्गे खोलाको मुहान मानिने राम्चेमा वर्षायाममा जाने पहिरोले तल्लो तटीय क्षेत्रमा थप जोखिम बढ्ने गरेको छ । पहिरो सहित आउने ढुङ्गा ,गिटीले खोलाको सतह पुरिँदै गएको छ । यसले कावासोती बजारको सतह भन्दा खोलाको सतह अग्लो हुँदै गएको छ । र थप जोखिम बढेको छ । तर यसको नियमित निकासाका लागि भने विभिन्न कानूनी अड्चन हुँदा खोला नियन्त्रणमा थप समस्या हुने गरेको वडा अध्यक्ष लोहनीले बताउनुभयो । खोला पुरिँदै जाँदा बस्तीको सतहभन्दा खोलाको सतह अग्लो भएकाले बाढी बस्तीमा पस्ने जोखिम बढेकाले यसको व्यवस्थापनको खाँचो रहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्