तपाईँ सुन्दै हुनुहुन्छः

७ करोड बढी लगानीमा एकीकृत कार्यालय भवन निर्माण हुँदै

एकै भवनमा ४ कार्यालय सञ्चालन हुने

जुम्ला । जुम्लामा ठुलो लगानीमा कर्णालीकै नमुना एकीकृत कार्यालय निर्माण भइरहेको छ । विगत ३ वर्षदेखि निर्माण भइरहेको एकीकृत कार्यालयको ७५ प्रतिशत काम सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सव–इन्जिनियर चन्द्र बहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बढीमा ४ वटा कार्यालय एकै भवनमा सञ्चालन गर्ने लक्ष्य बमोजिम एकीकृत कार्यालय निर्माण थालिएको हो । जुम्लामा कर्णालीकै पहिलो एकीकृत कार्यालय बन्ने छ । सेवाग्राहीले एकै भवनबाट छिटो र सहज सेवा पाउने अपेक्षा समेत गरिएको छ ।”

पाँच तले उक्त भवनमा चार तलामा कार्यालय रहने छन् । पाँचौँ तलामा कर्मचारी गेष्ट हाउस बनाइने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सरकारी वकिल कार्यालय लगायत अन्य चार वटा कार्यालय एकैसाथ सञ्चालन हुने छन् ।

लागत ७ करोड बढी
विगत तीन वर्षदेखि निर्माण भइरहेको पाँच तले नमुना एकीकृत कार्यालय भवनको हाल सम्म ७५ प्रतिशत काम सकिएको छ । पर्खाल लगाउने, ढलान गर्ने र रंगरोगन लगायतका काम सकिएका छन् । झ्याल ढोका जोड्ने र अन्य फिनिसिङका काम बाँकी छन् ।

कार्यालय निर्माणका लागि ९ करोड ६८ लाख ७४ हजार ८४५ रुपैयाँको स्टमेट गरिए पनि निर्माण कम्पनी (डाँफे क्याराभान जेभी काठमाडौँ) सँग ७ करोड २४ लाख ३२ हजार ६५७ रुपैयाँमा ठेक्का सम्झौता भएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सव–इन्जिनियर चन्द्र बहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button