कैलालीमा ५ महिनामा ७५ वटा चोरीका उजुरी
टीकापुर कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा ५ महिनाको अवधिमा ७५ वटा चोरीका उजुरी परेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ७५ वटा चोरीका उजुरी परेका प्रहरीले जनाएको छ ।
७५ वटा उजुरीमा ४१ वटा उजुरी दर्ता गरी चोरीमा संलग्नलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिनुभयो ।
सह–प्रवक्ता अधिकारीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र वर्दगोरीया गाउँपालिका क्षेत्रमा बढी चोरीका घटना भएका छन् ।
अनुसन्धानका क्रममा चोरीमा संलग्नहरू १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका र लागु पदार्थ दुर्व्यसनीमा लागेका व्यक्ति बढी देखिएका छन् ।
उनीहरूले घर तथा पसलहरूका ताला फोडेर नगद तथा गरगहना र अन्य सामानहरू चोरी गर्ने गरेको पाइएको सह–प्रवक्ता अधिकारीले बताउनुभयो ।
चोरीमा संलग्नहरू पेशेवर चोरहरू देखिएकाले सबै नागरिकहरूलाई सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्