झापामा सवारी दुर्घटनामा परी ५ महिनामा ५६ जनाको मृत्यु

भद्रपुर, झापा । पिकनिकको सिजन शुरु भएसँगै झापामा दुर्घटना बढेको छ ।
पछिल्लो पाँच महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा ५६ जनाले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको २०७९/०८० को मङ्सिर मसान्तसम्ममा ३२८ सवारी दुर्घटनामा ४३ जना पुरुष, १० जना महिला, एकजना बालक र दुई बालिकाको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । दुर्घटनामा ७० जना पुरुष सख्त घाइते भएका छन् ।
पिकनिकको समयमा जथाभाबी सवारी चलाउने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने तथा क्षमताभन्दा धेरै यात्रु राखेर सवारी चलाउँदा सञ्चालन गर्दा यो समयमा दुर्घटना बढेको प्रहरीले जनाएको छ ।
यो बेला प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतना अभियानसँगै कारबाही प्रक्रियालाई पनि तीव्रता दिएको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो । दुर्घटना बढेपछि ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा रातिको १२ बजेसम्म सवारी चेकजाँच गरिरहेको उहाँको भनाइ छ ।
चेकजाँचको समय बढाएसँगै ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक दुई सयको हाराहारीमा कारबाहीमा पर्न थालेको उहाँको भनाइ छ । सवारी दुर्घटनामा सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी रहेको प्रहरीले जनाएको छ । पाँच महिनाको अवधिमा तीन सय १६ वटा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्