साउनदेखि यता घरेलु तथा महिला हिंसाका ३ सय ४७ वटा उजुरी दर्ता

काठमाडौँ । राष्ट्रिय महिला आयोगमा साउन महिनादेखि यता घरेलु तथा महिला हिंसाका ३ सय ४७ वटा उजुरी दर्ता भएका छन् ।
आयोगको केन्द्रीय कार्यालयमा आज आयोजित सञ्चारकर्मींसंगको अन्तरक्रियामा आयोगका उपसचिव चमिला भट्टराईले साउन महिनादेखि कार्तिक मसान्तसम्ममा घरेलु हिंसाका ३ सय १६ र महिला हिंसाका ३१ गरी कुल ३ सय ४७ वटा उजुरी आयोगमा दर्ता भएको जानकारी दिनुभयो ।
आयोगका उपसचिव भट्टराईले बागमती प्रदेशमा सबैभन्दा बढी २ सय ९५ वटा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ वटा मात्र घरेलु तथा महिला हिंसाका घटना दर्ता भएको बताउनुभयो ।
आयोगका अनुसार, चार महिनाको अवधिमा मधेश प्रदेशमा १४ वटा, प्रदेश नं.१ मा ८ वटा, गण्डकी प्रदेशमा ६ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र कर्णाली प्रदेशमा ३ वटा घरेलु तथा महिला हिंसाका घटना दर्ता भएका छन् । सो अवधिमा प्रदेश उल्लेख नभएका १४ वटा उजुरी पनि दर्ता भएको आयोगले जनाएको छ ।
अन्तरक्रियामा आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले आयोग घरेलु तथा महिला हिंसाका सम्बन्धमा संवेदनशील भएर काम गरिरहेको भन्नुहुँदै दोषीलाई कारबाही गर्ने कुरामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तरक्रियामा आयोगका सदस्य कृष्णकुमारी पौडेल (खतिवडाले) ले कतिपय घरेलु तथा महिला हिंसाका घटनामा पीडितलाई प्रलोभनमा पारी उजुरी फिर्ता लिने गरेको पाइएको भन्नुहुँदै यस्तो अवस्थामा आयोगले कुनै काम नगरेको भन्नु उचित नहुने धारणा राख्नुभयो ।
आयोगका सदस्य विद्याकुमारी सिन्हाले मधेशमा भएका घरेलु तथा महिला हिंसाका घटनामा अनुगमन गरी पीडितलाई आयोगले आवश्यक परामर्श र क्षतिपूर्ति समेत दिलाएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्