तपाईँ सुन्दै हुनुहुन्छः

बेलायत सरकारले बनाएको ६७ किलोमिटर सडक प्रदेशलाई हस्तान्तरण

सुर्खेत । बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक निर्माण गरेर कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । १ अर्ब ६६ करोड ९३ लाख ५२ हजारको लागतमा निर्माण भएको सडकलाई बेलायत सरकारले आज कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हस्तान्तरण गरेको हो । 

सडक हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विकासको पहिलो आधार नै सडक भएकाले बेलायत सरकारले कर्णाली जस्तो दुर्गम स्थानमा सडक निर्माण गरिदिएर ठूलो सहयोग गरेप्रति धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सडक नहुँदा यस क्षेत्रका नागरिकले लामो समयदेखि भोग्दै आएको दुःखलाई अब मोटर गुडेपछि सहज हुने विश्वास व्यक्त गर्नु भयो । 

कार्यक्रममा बेलायती राजदूत निकोला पोलिटले गमगढी–देउली सडकले हुम्लालाई औपचारिक रुपमा सडक सञ्जालसँग जोडेसँगै खुट्टाले हिँड्ने बाटोलाई प्रतिस्थापन गर्दै मोटर गुडेपछि नागरिकको दैनिकीमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेलायत सरकारको प्रमुख ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत ४.५ मिटर चौडा मोटरेवल लिङ्क रोड नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक भएको जानकारी दिनु भयो । 

यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ । ६७ किलोमिटर सडक मध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकमा चार वटा पुल निर्माण गरिएका छन् । राजदूत पोलिटले सडक बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरण भएको समेत बताउनु भयो । यो परियोजनाको सफल समापनले स्थानीय जनता, सरकारका विभिन्न निकायहरू एक ठाउँमा हुँदा ठूलो परिवर्तन सम्भव हुने देखिएको उहाँको भनाइ थियो । 

राजदूत पोलिटका अनुसार सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आउने अपेक्षा राखिएको छ । अक्टोबर २०१८ बाट सुरु भएको सडक निर्माणका क्रममा चार हजार चार सय बढी स्थानीय श्रमिकहरूलाई रोजगारी दिइएको थियो । श्रम शक्तिको ३५ प्रतिशत भन्दाबढी महिलाहरू सहभागितामा निर्माण गरिएको सडकमा काम गर्ने प्रत्येक श्रमिकले आठ लाख बढी आम्दानी गर्न पनि सफल भएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button