पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान सोमबारदेखि
कास्की । रिठेपानी डाँडा १४ मिटर कटान भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यालिब्रेसन उडान सोमबारदेखि हुने भएको छ ।
पोखरेलीले लामो समयदेखि प्रतीक्षा गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) को तयारी भएको छ । क्यालिब्रेसन उडान गर्न थाई कम्पनीको जहाज पोखरामा शनिबार बिहान आइसकेको छ ।

मङ्सिर ५ गतेदेखि १२ गतेसम्म क्यालिब्रेसन उडानको तयारी पूरा भइसकेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मनुकर्मीले जानकारी दिनुभयो ।
हरेक दिन बिहान १० बजेदेखि १ बजेसम्म र साँढे दुई बजेदेखि साढे पाँच बजेसम्म क्यालिब्रेसन फ्लाइट हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्यदलका सदस्य सचिव अनुप जोशीले जानकारी दिनुभयो ।
क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक इक्युपमेण्ट चेकजाँचको काम विज्ञले गरिरहेको उहाँले बताउनुभयो । क्यालिब्रेसन फ्लाइटको समयमा पोखरा विमानस्थलको नियमित उडान भने प्रभावित हुने भएको छ ।
नियमित उडान सुरु हुनुअघि विमानस्थल प्राविधिक लगायत हरेक पक्षमा तयार रहे/नरहेको प्रमाणित गर्न क्यालिब्रेसन उडान हुन लागेको हो ।
क्यालिब्रेसन उडान सकिएपछि एरोथाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरूले उडान र अवतरण गर्न सक्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्