तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको पानी काठमाडौं पठाउनका लागि काम सुरु

सिन्धुपाल्चोक । वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौं पठाउनका लागि काम सुरु गरिएको छ । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन ।

यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो ।

अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उहाँले जानकारी दिनुभयो । आवश्यक उपकरणसहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्टलगायत केही काम सुरु गरिएको उहाँले बताउनुभयो ।

भोलिदेखि सुरुङ खोतल्ने काम सुरु हुने उहाँको भनाइ छ । सुरुङभित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत सालभन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

जतिसक्दो छिटो पानी सुरुङमा पठाउने गरी काम गरिने उहाँको भनाइ छ । उहाँका अनुसार सडक अवरुद्ध भएकाले मेसिन आयोजनास्थलमा पुर्‍याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो ।

विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवक्समा क्षति पुर्‍याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तस्रो सातासम्म पानी लगिएको थियो । विसं २०७८ असार १ गते सुपरिवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवक्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गर्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button