तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक

अछाम । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको चुनावलाई लक्षित गर्दै अछाममा मदिराजन्य पदार्थ बिक्री वितरण, ओसारपसार गर्न तथा खान रोक लगाइएको छ ।

चुनावलाई स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा जाँडरक्सी ओसारपसारदेखि खान समेत पूर्णरुपमा निषेध गरिएको अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय अछामले एक सूचना जारी गर्दै मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको जनाएको छ ।

जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाल सरकार गृह मन्त्रालयको २०७९ भदौ ३० गतेको पत्रमार्फत प्राप्त निर्देशन बमोजिम जिल्ला सुरक्षा समितिको २०७९ कात्तिक २० गतेको बैठकको निर्णय अनुसार २०७९ कात्तिक २१ गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणालीको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । 

यदि कोही कसैले सूचनाको उल्लङ्घन गरी मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । 

आउँदो चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लावासी, सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button