तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाल र श्रीलङ्काबिच ऐतिहासिक र धार्मिक सम्बन्ध छ’

काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनाले नेपाल र श्रीलङ्काबिच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताउनुभएको छ ।

दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवर्द्धनाले श्रीलङ्कामा करिब ७२ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलङ्काबिच धार्मिक सम्बन्ध रहेको बताउनुभयो ।

“राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ”, उहाँले भन्नुभयो । सङ्कटको समयमा छिमेकी देशले गरेको सहयोग प्रसंशनीय भएजस्तै सञ्चारकर्मीले पनि सकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

“पछिल्लो समय श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार आएको छ”, उहाँले भन्नुभयो, “यहीँ सत्यतालाई नेपाल, भारत र श्रीलङ्काका पत्रकारले जिम्मेवारीपूर्वक सूचना प्रवाह गर्नुपर्ने अपेक्षा राखेको छु ।” दक्षिण एसिया नेपाल, भारत, श्रीलङ्काका पत्रकारको समूहलाई श्रीलङ्काको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक स्थितिको बारेमा प्रकाश पार्न र आगामी दिनमा थप पर्यटकलाई श्रीलङ्का भ्रमण गराउन आमन्त्रित गरिएको हो ।

टोलीमा सहभागी पत्रकार सम्झना पौडेलका अनुसार यस ‘मिडिया परिचय टुर’ को आयोजना श्रीलङ्काली सरकार, टुरिजम प्रमोसन ब्यूरो श्रीलङ्का र एसिया मिडिया कल्चर एसोसिएसनले गरेको हो । एएमसिएका अध्यक्ष उपुल जानका जय सिङ्गेले पर्यटन प्रवर्द्धन ब्युरोको तर्फबाट मिडिया परिचय टुरले श्रीलङ्काको मात्र नभई एसियाली देशको नै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button