तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश र एपिएफ क्लबबिचको खेल बराबरीमा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबिच भएको खेल बराबरीमा सकिएको छ ।

मुलपानी क्रिकेट मैदानमा एपिएफले दिएको ११६ रनको लक्ष्य पन्छाएको गण्डकी ३१ ओभरमा ११५ रनमा अलआउट भयो । गण्डकीका लागि अभिषेक बस्नेतले २४ तथा अर्जुन कुमालले १८ रनको योगदान दिए । एपिएफका लागि मौसम ढकाल र किशोर महतोले ४/४ तथा भुवन कार्कीले २ विकेट हात पारे ।

त्यसअघि एपीएफ क्लब ११५ रनमा अलआउट भएको थियो । उसलाई गण्डकी प्रदेशले ३५.१ओभरमा अलआउट गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको एपीएफका लागि भुवन कार्की सर्वाधिक २४ रनमा अविजित रहे ।

यस्तै पूरण बिकले २३, लोकेश बम र सन्दीप जोराले समान २२/२२ रन जोडे । गण्डकीका लागि अर्जुन कुमाल र अमृत गुरुङले समान ३÷३ विकेट लिँदा सुभाष भण्डारीले २ विकेट झारे ।

अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिम प्रदेशलाई १६९ रनले हराउँदै आर्मीले पहिलो जित निकालेको हो ।

आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनायो ।

जितसँगै आर्मीले २ खेलमा २ अङ्क जोडेको छ । पहिलो खेलमा आर्मीलाई एपीएफ क्लबले हराएको थियो । आर्मी तेस्रो स्थानमा रहेको छ । लगातार तेस्रो हार व्यहोरेको सुदूरपश्चिम पुछारमा रहेको छ । सुदूरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button