निर्वाचनको मिति नजिकिँदै गर्दा जुम्लामा उम्मेदवारहरू गाउँ केन्द्रित

जुम्ला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू गाउँ केन्द्रित भएका छन् ।
निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि चुनावी भेला, आमसभा लगायतका कार्यक्रम गर्न अनुमति दिएसँगै उम्मेदवारहरू मतदाता रिझाउन गाउँ केन्द्रित भएका हुन् ।
जुम्लामा पनि चुनावी सरगर्मी बढिरहेको छ । जुम्लामा अपहले मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन निकै रोचक र खरो प्रतिस्पर्धा हुने देखिएको छ ।
सत्ता गठबन्धनका तर्फका कर्णालीमै पहिलो महिला उम्मेदवारका रुपमा जुम्लाबाट गोमा कुँवर (गौतम)ले उम्मेदवारी दिँदा नेकपा एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र बहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट डिल्ली प्रसाद काफ्ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिनुभएको छ ।
विशेषगरी सत्ता गठबन्धनका उम्मेदवार गोमा कुँवर, एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनका साझा उम्मेदवार तथा माओवादी नेतृ कुँवर २०७० सालको निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचन भई पशुपन्छी विकास राज्यमन्त्री समेत हुन भएको थियो । पूर्व मन्त्री तथा माओवादी केन्द्रकी प्रभावशाली महिला नेतृ कुँवर गठबन्धनको बलियो साथ भएकोले ढुक्कले चुनाव जित्ने दाबी गर्नुहुन्छ ।
“कर्णालीमा गठबन्धनबाट एक्ली महिला उम्मेदवारका रुपमा चुनावमा होमिएकी छु । मैले जुम्लाको विकासका लागि योगदान गर्न सक्ने विश्वासले गठबन्धनको तर्फबाट माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।”, उहाँले भन्नुभयो ।
“गठबन्धन मुलुकको हित र देशको विकासका लागि भएकोले जुम्लाबाट संघ प्रदेशमा गठबन्धनका उम्मेदवार बहुमतले जित्नेमा दुई मत छैन”, उहाँले भन्नुभयो, “मतदाताको विश्वास गठबन्धनले जितिसकेकोले निर्वाचन पनि जित्ने पक्का छ ।”
कुँवर यतिबेला संविधानको रक्षा, राजनीतिक स्थायित्व र महिला सशक्तीकरण, आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार विकासका एजेण्डालाई बोकेर घरदैलो अभियान हुनुहुन्छ ।
तर गठबन्धन भित्री रुपमा कमजोर भएको, गठबन्धनका उम्मेदवारहरूलाई स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिइरहेको, र अन्य दलबाट प्रभावकारी नयाँ अनुहार चुनावी मैदानमा उत्रिएकाले कुँवर सहजै चुनाव जित्न र कर्णालीमै पहिलो महिला जितेर इतिहास रच्न मुस्किल हुनसक्छ ।
जुम्ला निर्वाचन क्षेत्र (ख) मा काँग्रेसबाट असन्तुष्ट रहनुभएका धनबहादुर बस्नेत र निर्वाचन क्षेत्र (क)मा काँग्रेसबाट असन्तुष्ट भएर प्रभावशाली नेता देवेन्द्र बहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिँदा काँग्रेस भित्रैकै धेरै भोट बाँडिने देखिन्छ ।
त्यस्तै राप्रपाका ज्ञानेन्द्र बहादुर शाही र एमालेका रतननाथ योगीले पनि समुदायमा राम्रो प्रभाव पारेकोले गठबन्धनका उम्मेदवार कुँवरलाई चुनाव जितेर इतिहास रच्न बढिनै कसरत गर्नुपर्ने देखिन्छ ।
भ्रष्टाचार विरुद्धको अभियन्ता हुँदै राप्रपाको केन्द्रिय प्रवक्ता भएर अहिले जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिनुभएको ज्ञानेन्द्र बहादुर शाही आफु बहुमतले चुनाव जित्ने बताउँदै आउनुभएको छ ।
एक पटक मुलुकको नेतृत्व जुम्ली छोराले गर्ने, जुम्लाको जडीबुटी, कृषि उपजको उत्पादन वृद्धि, बजारीकरण र रोजगारीलाई बढवा दिने मुद्दालाई अघि सार्दै घरदैलोमा व्यस्त शाही सबै पार्टीकाले आफूलाई सहयोग गर्ने बताउनुहुन्छ ।
यद्यपि, राप्रपाको सङ्गठन मतदाता जुम्ला मुलुककै कमजोर छ । आफ्ना मतदाता राप्रपासँग जुम्लामा ५ सयभन्दा बढी छैनन् । तर ज्ञानेन्द्र शाहीका चुनावी सभामा देखिने भिड, सामाजिक सञ्जालमा बढेको आकर्षणले भने शाही आफु चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ।
आफ्नो उम्मेदवारी कुनै दलका विरुद्धमा नभई जुम्लाको विकास र एक पटक जुम्ली नागरिकले पनि राष्ट्रको नेतृत्व गर्न सक्छ भन्ने देखाउनका लागि हो भन्दै मतदाताको मन जित्ने प्रयत्न गरिरहेका शाहीलाई अभियन्तादेखि राप्रपाको प्रवक्ता हुँदै हालसम्मको विरासत चुनावी नतिजाबाट जोगाउन त्यति सहज छैन ।
मतदाता विचारबाट विचलित हुने स्थिति छैन । दलका उम्मेदवारलाई छाडेर राप्रपालाई दिन्छन् भन्ने आधार पनि छैन । जसका कारण ज्ञानेन्द्र शाहीलाई भनेजस्तो सहज चुनाव नहुने बहस चलिरहेको छ ।
नेकपा एमालेका उम्मेदवार रतननाथ योगी जुम्लाको आर्थिक समृद्धिसँगै कृषि, स्वास्थ्य, शिक्षा, सिँचाई पर्यटन विकास, रोजगारी सृजना र मुख्य रुपमा नीति निर्माणका मुद्दालाई प्राथमिकता दिएर मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।
२०७४ को चुनावमा तिला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई जनताका मसिना समस्या बुझेको, तिलाका उल्लेखीय विकास गरेको, जुम्लामा एमाले प्रतिको जनलहर बढ्दो भएकोले आफु चुनाव जित्ने दाबी योगीको छ ।
योगी केन्द्रिय राजनीतिक पहुँचका हिसाबले एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिनुहुन्छ । “जुम्लाको आर्थिक समृद्धि र विकासमैत्री नीति निर्माण पहिलो प्राथमिकता हो ।”, उहाँले भन्नुभयो, “विकास निर्माण, सेवा प्रवाह, आर्थिक समृद्धि, रोजगारी सृजना, उत्पादन वृद्धि नागरिकको आयआर्जन वृद्धि जस्ता कुरा नीति बिना सम्भव छैन । त्यसैले पुराना नीतिको संशोधन तथा नयाँ आर्थिक विकासमैत्री नीति निर्माणमा जोड दिने योजना छ ।”
२०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाका ८ पालिकामा मध्ये सात पालिकामा एमाले निल हुँदा तिला गाउँपालिका मात्रै जितेर योगीले जुम्लामा एमालेको विरासत जोगाउनुभएको थियो । योगीलाई अहिले प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेर विरासत जोगाउने अवसर र चुनौती दुवै छ ।
तर सत्ता गठबन्धन र ज्ञानेन्द्र शाहीले प्रभाव पार्ने चुनौती अर्का तिर छ । पालिका अध्यक्ष हुँदा अब्बल सावित भएको र आधाभुत विकास जुम्लाकै नमुना गरेकोले जनताले काम गर्ने मान्छेको मूल्याङ्कन गरिसकेको हुँदा आफु जित्ने उहाँको दाबी छ ।
विगतको काम, आफ्नो अनुभव तथा समन्वय आर्थिक समृद्धिको मेरो लक्ष्य सफल बनाउन आम जुम्ली जनताले एक पटक संसदीय अभ्यासका लागि र जुम्लाको विकासका लागि अमुल्य मत दिई जिताएर पठाउनेमा रतनाथ योगी ढुक्क हुनुहुन्छ ।
त्यस्तै नेमकिपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डिल्लीप्रसाद काफ्लेले पनि जनता सचेत भइसकेकोले आफु जस्ता इमानदार र राष्ट्रियताका सवालमा प्रतिबद्ध पार्टीका उम्मेदवारलाई भोट दिएर जिताउने दाबी गर्दै आउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्