तपाईँ सुन्दै हुनुहुन्छः

मिचिएको नेपाली भूमि फिर्ता गरिने छ : अध्यक्ष ओली 

दार्चुला  । नेकपा एमालेका  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च जमिन मिच्न र मिचिन नदिने बताउनुभएको छ । 

एमालेको देशव्यापी चुनावी अभियानको दार्चुलाबाट सुरुवात गर्नुहुँदै अध्यक्ष ओलीले  दार्चुलामा मिचिएको नेपाली भूमि फिर्ता गरिने बताउनुभयो । उहाँले यो अभियान दार्चुलाबाट सुरु हुनुमा राष्ट्रियता र विकास पहिलो प्राथमिकतामा रहेको समेत बताउनुभयो । 

पछाडि परेको क्षेत्रको विकासका लागि नेकपा एमाले जहिल्यै पनि जनताको साथमा रहेको बताउँदै उहाँले आफू प्रधानमन्त्री हुँदा यस क्षेत्रको मिचिएको भू–भाग समेटेर चुच्चे नक्सामा समेटिएको समेत बताउनुभयो ।  

दार्चुलाको विकास र समस्याका बारेमा आफु जनकार रहेको बताउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा धेरै कामहरू भएको समेत दाबी गर्नुभयो । उहाँले दार्चुलाको तिंकर सडक निर्माणमा  महाकाली नदी तटबन्ध प्राथमिकतामा रहेको बताउनुभयो । 

सदरमुकामको प्रमुख समस्या महाकाली नदीको कटान रहेको बताउँदै उहाँले भन्नुभयो, “नदीको पानीको बहाव सर्दैमा सीमा सर्दैन ।” उहाँले आफ्नो कार्यकालमा दार्चुलामा तुइनहरूको स्थानमा झोलुङ्गे पुलहरू बनेको र दार्चुला –धारचुला मोटर पुल छिट्टै निर्माण सुरु गरिने  पनि बताउनुभयो । 

खलंगामा भएको चुनावी तथा अभियान उद्घाटन गर्न हेलिकप्टरमार्फत दार्चुला पुग्नुभएका    अध्यक्ष ओलीले दार्चुला खलङ्गास्थित स्वर्गीय  नेता प्रेम सिंह धामीको शालिकमा माल्यार्पण समेत गर्नुभएको थियो । 

अध्यक्ष ओलीले आजै बैतडीको पाटन  र कञ्चनपुरको महेन्द्रनगरमा  हुने आमसभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।  

यसअघि ओली २०७० सालको संविधानसभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुग्नुभएको थियो । ९ वर्षपछि पुनः ओली चुनावी सभाको लागि दार्चुला आउनुभएको हो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button