आचारसंहिता उल्लङ्घनको कारबाही निष्पक्ष छ : आयुक्त राणा

जनकपुरधाम । निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर राणाले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउनका लागि आयोगले आचारसंहिता पालना गराउनका लागि निष्पक्ष रुपमा अगाडी बढेको बताउनुभएको छ ।
निर्वाचन आयोगद्वारा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभालाई लक्षित गरेर आज जनकपुरधाममा आयोजना गरिएको प्रदेश स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै उहाँले आयोगले निर्वाचन आचारसंहिताको पालना गराउने काम निष्पक्ष रुपमा गरिरहेको बताउनुभयो ।
आयोगले कारबाही गर्दा निष्पक्ष नभएको आरोपमा कुनै सत्यता नभएको पनि उहाँले बताउनुभयो ।
उहाँले निर्वाचन आयोगले कसैको व्यक्तिगत तथा बसौँ पुराना राजनीतिक पहिचानलाई कारबाही गरेर समाप्त गर्न नचाहेको भन्नुहुँदै यसका लागि राजनीतिक दल आफैले आचारसंहिता विपरीतको क्रियाकलाप गर्न नहुने बताउनुभयो ।
निर्वाचन आयुक्त राणाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रुपमा सम्पन्न गराउनमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै पत्रकारहरूले कलम चलाउँदा कसैको पक्ष र विपक्षमा नगरेर सत्यको पक्षमा गर्नुपर्ने बताउनुभयो ।
उहाँले पत्रकारिता क्षेत्रको निर्वाचन सफल बनाउन तथा माहौल सृजना गर्नका लागि महत्त्वपूर्ण भूमिका रहेको भन्नुहुँदै गलत सूचना प्रवाहित नगरिदिनका लागि आग्रह समेत गर्नुभयो ।
धनुषा जिल्लाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले चाँडो समाचारको नाममा गलत सूचना प्रवाह गर्नुहुने भन्नुहुँदै सत्य तथ्य समाचार सम्प्रेषण गर्नका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेशका निर्वाचन कार्यालयका प्रमुख श्रीद्धर पन्थी, नेपाल पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउनमा पत्रकार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्