बालबालिकाहरूसँग खुसी मनाउँदै प्रेमगीत–३ को टोली
काठमाडौँ । प्रेमगीत–३ को निर्माण टोलीले नेपाली चलचित्रलाई संसारभरका दर्शकसामु पुर्याउन सफल भएकोमा बुढानीलकण्ठमा रहेको एक बालगृहका बालबालिकाहरूसँग खुसीयाली मनाएको छ ।
बुढानीलकण्ठमा रहेको बालगृह महासङ्घमा रहेका ५५ जना बालबालिकाहरूसँग खानपिन, देउसीभैलो तथा दीपावलीको शुभकामना आदानप्रदान गरेर सफलताको खुसी साटेको निर्माता निर्देशक सन्तोष सेनले जानकारी दिनुभएको छ ।

सो अवसरमा बालगृहमा बस्दै आएका सम्पुर्ण बालबालिकाहरूको १ वर्षसम्म लाग्ने स्कुल फी, सबैका लागि लत्ताकपडा, सिरक तथा डसना समेत प्रदान गरेको सेनले जानकारी दिनुभयो ।
बालगृह महासङ्घको भवन जीर्ण अवस्थामा रहेको र निर्माण टिमले घरलाई मर्मत सम्भार गरी रङरोगन गरेर खुसी साटासाट गरेको थियो । कार्यक्रममा स्वर्गीय लेखक निर्देशक क्षेतेन गुरुङलाई सम्झना गरिएको थियो । “गुरुङको परिकल्पना नभएको भए सायद यो कथामा चलचित्र बनाउने सम्भावना पनि थिएन” सेनले बताउनुभयो ।

निर्माण टिमले चलचित्र सफल हुनुको सम्पुर्ण श्रेय दर्शक, मिडियाकर्मी, चलचित्रकर्मी र शुभचिन्तकहरूलाई दिँदै प्रोजेक्ट निर्माणमा काम गर्ने सम्पुर्ण टेक्निसियन तथा आसुसेनका सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्