तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैङ्कद्वारा जारी चालू पूँजी मार्ग निर्देशन २०७९ खारेजीको माग

सुनसरी । नेपाल राष्ट्र बैङ्कद्वारा लागू गरिएको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ खारेजीको माग गर्दै इनरुवाका उद्योग व्यापारीहरूले विरोध र्‍याली प्रदर्शन गरेका छन् ।

उद्योग वाणिज्य संघ इनरुवा सुनसरी तथा सदरमुकाम इनरुवाका उद्योग व्यापारीहरूले नगर परिक्रमा गरि विरोध र्‍याली प्रदर्शन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्ग निर्देशन २०७९ खारेजीको माग गर्दै उद्योग वाणिज्य संघ इनरुवा सुनसरीले १० बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बझाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र शाहले जानकारी दिनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाइएको थियो ।

मुलुकको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई झनै समस्याग्रस्त बनाउने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्ग निर्देशन २०७९ र त्यसैको आडमा आर्थिक मन्दीको अवसर छोपेर समग्र निजी क्षेत्रलाई धराशायी बनाउने बैङ्कहरूको सिन्डिकेटले गरिरहेको कसिकसाउप्रति कडा विरोध जनाइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उच्च दरको आर्थिक वृद्धिका लागि कर्जा दरमा एकल अङ्क कायम गरि स्वामित्व कायम हुनुपर्ने, बैङ्कहरूको कर्जा प्रवाह र नवीकरण लिने सेवा शुल्क वा कुनै पनि शुल्क महसुल लिन नपाउने, पुरानो चालू पूँजी कर्जा निर्देशिकालाई यथावत् राखी नयाँ निर्देशिका क्रमिक रुपमा लागू गर्नुपर्ने, कर्जा ब्याजदर वृद्धि गर्दा ऋणीको अनिवार्य सहमति हुनुपर्ने लगायतका मागसहित १० बुँदे ज्ञापन पत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवलाई बुझाइएको उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button